‘कामबाट कमाई, आम्दानीले आत्मसम्मान’

प्रमिला कुँवर २०८२ जेठ २१ गते १२:४३

पोखरा ।
पोखराको पृथ्वीचोकको सडकमा दिनहुँजसो एउटा युवक देखिन्छन् । बाटो हिड्ने यात्रुलाई उनी सोध्छन्, ‘पठाओ चाहिएको ?’ उनको प्रश्नको उत्तर नदिई हतारिँदै यात्रु बाटो लाग्छन् । एकाधबाट मात्र जवाफ आउँछ, ‘हो चाहिएको ।’


अनि मोटरसाइकलको पछाडि यात्रु बोकेर ऊनी पोखराका गल्लीगल्ली दौडिन्छन् । उनी हुन् कलेज पढ्दै गरेका २१ वर्षीय कमल कार्की । उनले पैसाको महत्व बुझेका छन् । कार्की भन्छन्, ‘कुनै काम सानो ठूलो हुँदैन, काम गरे पैसा कमाइन्छ, अनि आत्मसम्मान पनि कमाउन सकिन्छ ।’ २ वर्षअघि कमल पढ्नका लागि तनहुँबाट पोखरा आएका थिए । उनी बिहान कलेज जान्छन्, दिउँसो काम ।


पठाओबाट कमाएको पैसाले कलेजको फी तिर्न पुग्ने साथै खर्च पनि धानिने कार्कीले सुनाए । खर्चका लागि अरुमा भर नपर्नु परेकाले सन्तुष्ट देखिन्छन् उनी । उनका साथीहरु विदेश जाने कुरा गर्दा उनलाई निको लाग्दैन । ‘मलाइ विदेश जाने इच्छा छैन । यही बसेर केही गर्न सकिन्छ । आफ्नो सीप प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । अवसर पनि यहि खोज्नुपर्छ,’ उनले भने ।

Advertisement


कहिलेकाहीँ ग्राहकबाट समस्या पर्ने गरेको कार्कीले जानकारी दिए । बिनाकारण गाली गर्ने, भाडा तिर्न आनकानी गर्ने, रिभ्युमा गलत टिप्पणी लेख्ने जस्ता समस्या भोग्नुपरेको छ । सडकको अवस्था, प्रतिकूल मौसमका कारण पनि उल्झन आईलाग्छन् ।
नेपालमा पछिल्लो समय राइड–सेयरिङ लोकप्रिय बन्दै छ ।

यातायात व्यवसायीले शुक्रबारदेखि गण्डकीमा सार्वजनिक यातायात बन्द गर्दा राइड सेयरिङ सर्वसाधारणको विकल्प बनेको छ । विशेषगरी, युवा पुस्ताले इन्ड्राइभ, पठाओ जस्ता प्लेटफर्मलाई स्वरोजगारको विकल्प बनाएको छ । स्मार्टफोनमा एपमार्फत यात्रु र चालकलाई जोड्ने सेवाको पोखरामा पनि यसको आर्कषण बढ्दै छ ।

Advertisement

यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गर्दा राइड सेयरिङ बन्यो विकल्प


इन्ड्राइभबाट आम्दानीका साथै आत्मनिर्भर बन्ने अवसर पाएको चालक भरत श्रेष्ठले जनाए । पोखरा १३ भद्रकालीका श्रेष्ठ फुलटाइम यो पेशामा छन् । उनी निर्माण सामग्री व्यवसायी पनि हुन् । अन्य कामसँग समय मिलाएर चलाउन सकिने र फुर्सदका बेला पनि चलाउन सकिने उनको भनाइ छ ।


इन्ड्राइभमा ग्राहकले भाडा प्रस्ताव गर्न सक्ने, चालकको प्रस्ताव आफूले स्वीकार्न सकिने, चालक छनोट गर्न सकिने, चालकको रेटिङ र उनीहरुले कति राइड गरिसकेका छन् भन्ने हेर्न मिल्छ । श्रेष्ठ इन्ड्राइभमा गत असोजदेखि आवद्ध भएका हुन् । ४/५ महिनामा ९० हजार आम्दानी भएको उनले सुनाए । ‘दिनमा ३/४ घन्टा काम गर्दा पनि राम्रो कमाइ हुन्छ ।

सबैभन्दा राम्रो पक्ष भनेको आफ्नो समय मिलाएर काम गर्न सकिन्छ,’ उनले भने, ‘काम सहज भए पनि ग्राहकले दुख दिन्छन् । बोलाएर फोन नउठाउने, फोन अफ गर्ने, अर्कै राइडरसँग गइदिने गर्छन् । बार्गेनिङ त झन् मुख्य समस्या हो । लागेको भाडा त लिनै पर्‍यो ।’ बिहान र बेलुका विद्यालय/अफिस समयका बेला बढी माग हुने भएकाले त्यो समयमा बढी आम्दानी हुने उनको अनुभव छ ।

भरत श्रेष्ठ/ इन्ड्राइभ राइडर

पोखराका आकाश मोक्तान केही महिनादेखि इन्ड्राइभमा पूर्णकालीन काम गरिरहेका छन् । ३४ वर्षीय मोक्तानले नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रमाण इन्ड्राइभले दिएको सुनाए । मोक्तान लामो समय विदेशमा काम गरेर नेपाल फर्किएका हुन् ।


इन्ड्राइभमार्फत आम्दानी राम्रो भए पनि चुनौती पनि रहेको उनको गुनासो छ । इन्धनको मूल्य वृद्धि, सडकको अवस्थाले कठिनाइ भोग्नुपरेको बताउँदै उनले ट्राफिक नियम पालना गर्नुपर्ने र यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने जिम्मेवारी रहेको उनले उल्लेख गरे ।


‘अर्काको देशमा गएर दुख गर्नुभन्दा यहाँ इन्ड्राइभमा लागेको । समस्या त जहाँ पनि रहेछ । काम गर्न कहाँ सजिलो छ र ? ट्राफिकले चिट काट्छ, एयरपोर्ट गयो, ट्याक्सी ड्राइभरले लखेट्छन्, कुट्छन् । ग्राहकले बार्गेनिङ गर्छन्,’ मोक्तानले दिक्दारी पोखे ।


यी अल्झन भए पनि विदेशमा जस्तो गाह्रो नेपालमा नहुने उनले बताए । काममा विद्यार्थी, कर्मचारी, पर्यटक, विभिन्न किसिमका मानिससँग भेट हुने भएकाले नेटवर्किङको अवसर मिल्ने मोक्तानले बताए । उनले भने, ‘कतिपय ग्राहकसँग कुरा गर्दा नयाँ कुरा जान्न पाइन्छ, नयाँ अवसर पनि आउन सक्छ ।’


यातायात व्यवसायी सहकर्मी हुन् : बस्न्यात
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिएको छ । लामो समयदेखि कानुनी अन्योलमा परेको पठाओ सेवाले गण्डकीमा आधिकारिक रुपमा सञ्चालनको बाटो पाएको हो ।


पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले लामो संघर्षपछि सरकारको सकारात्मक निर्णयले उत्साहित बनाएको सुनाए । पठाओलाई वैधानिक बनाउने प्रक्रियामा चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ । अहिलेको समयमा पठाओ जस्ता डिजिटल यातायातको आवश्यकता रहेको उनी बताउँछन् ।


राइड सेयरिङ युवा वर्गको आम्दानीको माध्यम बनेको बताउँदै उनले यात्रुले पनि सहज र भरपर्दो सेवा पाएको सुनाए । यातायात व्यवसायीले यसको विरोध गर्नु न्यायसंगत नभएको बस्न्यातको भनाइ छ । ‘सुप्रिम कोर्टले सञ्चालन गर्न आदेश दिइसकेको छ । त्यसको पालना नगर्नु अदालतको अवहेलना हो,’ उनले भने, ‘यातायात व्यवसायीले हामीलाई प्रतिस्पर्धीको रुपमा हेर्नुभएको छ, तर हामी उहाँहरुलाई सहकर्मीको रूपमा हेर्छौं ।’


उनले अब नियम अनुसार कर तिर्न तयार रहेको जानकारी दिए । नियम नहुँदा कर तिर्न नपरेको भए पनि अब नियमित कर तिर्ने बस्न्यातको भनाइ छ । डिजिटल यातायातमा ड्राइभरको रेटिङ, समीक्षा, सवारी साधनको जानकारी हेर्ने सुविधा भएकाले ग्राहकलाई सुरक्षित यात्राको अनुभव हुने उनी बताउँछन् ।

असिममान सिंह बस्न्यात/ पठाओ सञ्चालक

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया