म्याग्दी क्याम्पसका विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क

समाधान संवाददाता २०८२ जेठ २१ गते १२:४०

पोखरा । म्याग्दी सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमकाबिच विद्यार्थीहरुलाई वितरण गरिएको हो । 

क्याम्पस र स्ववियुको समन्वयमा विद्यार्थीहरुलाई चुलो वितरण गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रेमबहादुर कार्की, क्याम्पस प्रमुख श्रीधर सुवेदी, स्ववियु सभापति संगम चोखाल क्षेत्री लगायतले चुलो वितरण गरे ।

पहिलो चरणमा करिब तीन जना विद्यार्थीलाई चुलो वितरण गरिने स्ववियु सभापति सङ्गम चोखाल क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आर्थिक रुपमा कमजोेर र दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गरिएको छ । चुलो वितरण गर्दैै अध्यक्ष श्रेष्ठले ग्रामिण भेगबाट आएर बेनीमा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने बताए ।  

Advertisement

चुलो ल्याउन सहयोग गर्ने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दै म्याग्दी क्याम्पस सँगै मङ्गला शिक्षा क्याम्पसका सबै विद्यार्थीलाई चुलो उपलब्ध गराउन सहयोग गर्न राज्यमन्त्री गर्बुजासँग छलफल भइरहेको बताए । उनले भने , “सबै विद्यार्थीको आर्थिक अवस्था उस्तै छैन । धेरैजसो ग्रामिण भेगबाट आएर यहाँ अध्ययन गर्ने भएकोले विद्युतीय चुलोले उनिहरुको दैनिकीमा ठुलो टेवा पुग्नेछ। काठमाडौं उपत्यकामा मात्र वितरण गरिंदै आएकोमा पहिलोपटक म्याग्दी क्याम्पसका विद्यार्थीलाई चुलो उपलब्ध गराउन पहल गर्नुहुने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दछु ।”

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका–४,मुदी बगरका शेरबहादुर सुनार र सोही गाउँपालिका–५, मराङकी रोजीना सुवेदीले ग्यासको तुलनामा धेरै सस्तो हुने भएकोले इन्डक्सन चुलोले आफूहरुलाई सहज हुने बताए । निःशुल्क चुलो प्राप्त गरेपछि खुशी हुँदै उनीहरुले भने, “विद्युतीय चुलो सस्तो र सजिलो हुन्छ । ग्यास बाल्नुभन्दा इन्डक्सन चुलो प्रयोगले हामीलाई ठुलो टेवा पुग्नेछ ।” क्याम्पसमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया