रुपामा सामूहिक गाईभैंसी पालन

पोखरा ।
रुपा गाउँपालिका वडा नम्बर ६ भोर्लेका किसानले सामूहिक रुपमा पशुपालन गर्न थालेका छन् । कृषि तथा पुशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तर्गतको आर्थिक कोरिडोर कार्यालय बुटबलसँगको लागत साझेदारीमा रुपा भोर्ले बहुउद्देश्यीय कृषक समूहले सामूहिक गाई भैंसी पालन थालेको हो ।
कृषक समूहको शनिबार भएको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष भूपेन्द्र खड्काले स्वच्छ दूध उत्पादनका लागि गाई भंैसी पालन (उपआयोजना) सञ्चालन गरेको जानकारी दिए । सहयोगी निकाय आर्थिक कोरिडोर कार्यालय बुटबलका कृषि अधिकृत पुरुषोत्तम सुवेदीले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना अन्तर्गत १ करोड ४२ लाखको लागतमा कृषक समूहले रुपा ६ भोर्लेमा गाई भैंसी पाल्न लागेको बताए ।
उत्पादनमूलक साझेदारीमा हरेक किसानको ५० प्रतिशत योगदान रहने जानकारी दिँदै उनले ४ लाखको काममा किसानले २ लाख अनुदान पाउने उल्लेख गरे । कृषक समूहका अध्यक्ष खड्काले पहिलो ‘कोसेढुंगा’ अन्तर्गत गाई भैरीको गोठ, कम्पोस्ट पिट (मल),आहारा भण्डारण कक्ष, युरिन पिट (पिसाब संकलन) तारबार जाली, पानी टंकी, पर्खाल लगायतका भौतिक पूर्वाधारको काम भएको बताए ।
विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना अन्तर्गत डेढ करोड लागतमा कृषक समूहले रुपा ६ भोर्लेमा पशुपालन थालेको हो
दोस्रो कोसेढुंगा अन्तर्गत गाई भैंसी तथा मेसिन यन्त्रको खरिद, दूध दुहुने मेसिन, तौलिने मेसिन, दाना तालिम खोपको व्यवस्था गर्ने उनले उल्लेख गरे । ‘कृषक समूहको नाममा जग्गा खरिद भएको छ । समूहले गर्न लागेको पशुपालन किसानको सामूहिक काम हो,’ उनले भने, ‘राज्यको समेत अनुदान जोडिएको समूहको व्यवसायबाट किसानले सामूहिक प्रतिफल पाउने छन् ।’
अध्यक्ष खड्का अनुसार कृषक समूहमा ५३ किसान आबद्ध छन् । अहिलेसम्म प्रतिकिसान १ लाख २ सय ७ रुपैयाँका दरले रकम संकलन भएको छ । आयोजनाबाट २६ लाख ९६ हजार ३ सय ८० रुपैयाँ सहयोग आएको उनले उल्लेख गरे । आयोजना अन्तर्गत ६ जेठ २०८१ मा सम्झौता भएको १ वर्षको अविधिमा ५८ लाख १६ हजार ८ सय ८४ रुपैयाँ बराबरको काम भएको छ ।
आर्थिक कोरिडोर कार्यालय बुटबलका कृषि अधिकृत सुवेदीले आयोजनाले ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्नका लागि प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताहरु बिचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्ने बताए । आयोजनाले आवश्यक नीतिगत खाका, आवश्यक संरचनाहरु निर्माण र क्षमता विकास लगायत अन्य सहयोगी सेवाहरु मार्फत उपयुक्त उद्यमशिलताको वातावरण निर्माण गर्नसमेत सहयोग पुर्याउने जानकारी दिदै उनले उत्पादनमूलक साझेदारीलाई प्रवद्र्धन गर्ने उत्कृष्ट व्यवसायिक योजनाहरुलाई पूरक अनुदान दिने उल्लेख गरे ।
सन २०२१ देखि सुरु भएको आयोजना २०२५ सम्म सञ्चालन हुनेछ । कास्कीका ५ पालिकासहित गोरखा, लमजुङ, पर्वत, बागलुङका २१ पालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको कार्यक्षेत्र पर्ने उनले उल्लेख गरे ।
कृषि व्यवसाय विज्ञ विष्णुदयाल सिंहले लगानीबाट प्रतिफल लिनका लागि चासो राख्नुका साथै सामूहिक र संस्थागत रुपमा काम गर्न सुझाव दिए । आगामी दिनमा ३६ गाई भैंसी र राँगो खरिद गर्नुपर्ने जानकारी दिदै उनले असार १५ सम्ममा आयोजनाको सबै काम पूरा गर्न आग्रह गरे । उनले खर्च कम गर्नको लागि मेसिन औजार घटाउन सकिने बताए ।
रुपा गाउँपालिका वडा नम्बर २ का सदस्य बुद्धिमाया गुरुङले कृषक समूहको समूहगत व्यवसायिक लगानी प्रतिसेयर सदस्यको माया हुनुपर्ने बताइन् । सामूहिक र संस्थागत रुपमा काम गर्न सुझाव दिँदै उनले किसानको गाई भैंसी पालन सफल भए रुपाको लागि उदाहरणीय बन्ने र आय आर्जनसमेत बढ्ने दाबी गरिने ।
कार्यक्रममा भोर्ले बहुउद्देश्यीय कृषक समूहका सदस्यहरु सवाबक्स मियाँ र तिलक खड्काले सामूहिक र संस्थागत रुपमा काम गरी समूहलाई देशले चिन्ने कृषक समूह बनाउने दाबी गरे ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया