गण्डकी विश्वविद्यालयमा आइओटी प्रोडक्ट तथा एप विकास तालिम

विद्यार्थीले व्यावसायिक उत्पादन विकासको वास्तविक प्रक्रिया बुझे

समाधान संवाददाता २०८२ जेठ २१ गते १८:१९

पोखरा ।
गण्डकी विश्वविद्यालय र यार्सा टेक प्राइभेट लिमिटेडको संयुक्त पहलमा आइओटी प्रोडक्ट तथा एप विकाससम्बन्धी ६ दिने तालिम भएको छ । तालिम जेठ १३ देखि २० गते सम्म भएको हो । तालिममा गण्डकी विश्वविद्यालयका सूचना प्रविधि (बिआइटी) का ३५ जना विद्यार्थीले सहभागिता जनाए । उनीहरुले इन्टरनेट अफ थिङ्स (आइओटी) र मोबाइल एप विकासका व्यावहारिक सीपहरूमा दक्षता हासिल गरे ।


तालिम गण्डकी विश्वविद्यालय र यार्सा टेक प्राइभेट लिमिटेड बीच भएको सम्झौता (एमओयु) अन्तर्गतको पहिलो कार्यक्रम हो । उक्त सम्झौताले अनुसन्धान र नवप्रवर्तनका साझा प्रयास, विद्यार्थीका लागि इन्टर्नसिप र व्यावहारिक तालिम, उद्योग–शिक्षा साझेदारीमा आधारित परियोजना, पाठ्यक्रम विकासमा विज्ञहरूको सुझाव र क्यारियर मार्गदर्शन जस्ता विषयलाई समेटेको छ ।
तालिममा विद्यार्थीले सर्किट डिजाइनदेखि मोबाइल एप्लिकेसन विकास र तिनको एकीकरणसम्मको सम्पूर्ण प्रक्रियाबारे सिक्ने अवसर प्राप्त गरेका थिए । सहभागीले अडिक्युआर जस्ता यथार्थपरक परियोजनाको अध्ययन गरेर स्मार्ट स्विच एप्लिकेसन निर्माण गर्ने कार्य पनि सम्पन्न गरे ।


तालिममा यार्सा टेकमा उपभोक्ता इलेक्ट्रोनिक्सको डिजाइन तथा निर्माण प्रक्रिया, आइओटी उपकरणहरूको संरचना र कार्यप्रणाली, सर्किट डिजाइनका आधारभूत सिद्धान्तहरू, मोबाइल र वेबका लागि कम्पेनियन एप विकास, ब्याकएन्ड सेवाहरूको एकीकरण र एमक्युटिटी प्रोटोकलमार्फत उपकरण सञ्चार प्रविधिबारे सिकाइयो ।

Advertisement


यो तालिमले विद्यार्थीलाई व्यावसायिक उत्पादन विकासको वास्तविक प्रक्रिया बुझ्न, टोलीमा सहकार्य गर्ने सीप विकास गर्न र नवप्रवर्तनमा आधारित सोचलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।


गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले यो तालिमलाई उद्योग र शिक्षाबीचको सहकार्यको कोसेढुंगा रूपमा व्याख्या गरे । उनले भने, ‘यो तालिमले पोखरामा उद्योग र शिक्षाबीचको सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ । यसले विद्यार्थीलाई बजारमुखी सीप प्रदान गर्दै भविष्यका प्रविधिमा आधारित उद्यमशीलता र रोजगारीका सम्भावनालाई विस्तार गर्नेछ ।’

Advertisement


यार्सा टेकका प्रमुख कार्यकारी अधिकृत एनजे सुवेदीले दीर्घकालीन लक्ष्य स्थानीय प्रतिभालाई सक्षम बनाउनु रहेको सुनाए । नेपालकै एकमात्र कन्ज्युमर इलेक्ट्रोनिक्स उत्पादक कम्पनीको रूपमा आफूहरुले नेपालमै उच्चस्तरीय हार्डवेयर विकास सम्भव छ भन्ने कुरा प्रमाणित गरिरहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया