
पोखरा ।
१९ औं छुवाछुत तथा भेदभावमुक्त राष्ट्रिय दिवस २०८२ को सन्दर्भमा कास्कीका ४ सामाजिक अभियन्तालाई साहसी नागरिक सम्मान २०८२ बाट बुधबार सम्मान गरिएको छ । साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा पण्डित मुक्तिनाथ शर्मा तिमिल्सिना, पूर्व मेजर वीरसिंह गुरुङ, पूजार सार्की (मार्कण्य अधिकारी) र शिवकुमारी बसेल (सार्की)लाई मरणोप्रान्त साहसी योद्वा सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा सम्मानित हुने व्यक्तित्व र नेतृत्व विषयक विशेष संवाद कार्यक्रमसमेत भएको छ । कार्यक्रममा पोखराका मेयर धनराज आचार्यले साहसी योद्वाको परिवारलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरे । मेयर आचार्यले हाम्रो सामाजिक संरचना र व्यवहारमा अझै पनि कतिपय ठाउँमा देखिने विभेदकारी सोंच र व्यवहारलाई पूर्ण रूपमा अन्त्य गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
‘जातीय छुवाछुत र भेदभाव केवल व्यक्तिगत अपमानमात्र होइन, यो सामाजिक, नैतिक, र मानवीय गरिमाविरुद्धको गम्भीर अपराध हो,’ मेयर आचार्यले भने, ‘यस्तो सोंच र व्यवहारले हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र समावेशी विकासलाई बाधा पु¥याउँछ ।’ उनले नयाँ नेपाल समानता, न्याय, सहभागिता र समावेशीतामा आधारित समतामूलक समाज निर्माण गर्न खोजेको चर्चा गरे । त्यसका लागि विविधतामा एकता, सहिष्णुता र आपसी आदर गर्ने प्रणाली बलियो आधार बन्नुपर्ने उल्लेख गर्दै उनले महानगरको तर्फबाट जातीय छुवाछुत तथा विभेदका सबै स्वरूपको विरोध गरेको स्पष्ट पारे ।
शिक्षा, चेतना, कानुनी कार्यान्वयन, सामाजिक सुधार र समावेशी नीतिहरूको माध्यमबाट विभेदमुक्त समाज निर्माणमा क्रियाशील रहन प्रतिबद्धता व्यक्त गर्दै मेयर आचार्यले सो दिवसले सबैलाई आफ्नो साेंच, व्यवहार, र प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिनुपर्ने बताए ।
उनले प्रतिष्ठानले समाग्र कास्कीको सामाजिक सुधारको क्षेत्रमा गौरव गर्ने काम गरेको बताए । साहासी बालक कमल नेपाली नेपालकै गौरव गर्ने युवा भएको र उनका बारेमा चिन्तन मनन गरी रहनुपर्ने उल्लेख गरे । प्रतिष्ठान पोखराका अध्यक्ष तथा संविधान सभाका सदस्य दिलबहादुर नेपालीले समतामूलक समृद्व समाज निर्माणमा साहसिक कदम चाल्ने ऐतिहासिक योद्वा/अभियन्तालाई मरणोप्रान्त साहसी नागरिक सम्मान २०८२ बाट सम्मान कार्यक्रमको थालनी गरेको जानकारी दिए ।
सम्मान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने निर्णय गरेको उल्लेख गर्दै उनले साहसिक खेलकुद, पर्यटन, समाजसेवा र सामाजिक अभियानमा क्रियाशील व्यक्तिलाई समेट्ेर गण्डकी प्रदेशहुँदै सम्मानलाई देशव्यापी बनाउने घोषणा गरे ।
महिला अधिकारकर्मी कमला सुनारले नेपालको संविधानले हरेक नागरिकलाई समानता, सम्मान र सम्मानजनक जीवन यापनको अधिकार सुनिश्चित गरेको बताइन् । जातकै कारण कसैले पनि अपमान, तिरस्कार वा अवसरबाट बञ्चित हुनुपर्ने अवस्था नेपालको संविधान, मानवता र लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध भएको उल्लेख गर्दै उनले समानता, समावेशिता र सामाजिक न्यायको पक्षमा साझा संकल्प गर्नुपर्ने चर्चा गरिन् ।
कार्यक्रममा अभियन्ता रवीन्द्र माकाजु, पण्डित मुक्तिनाथ शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन थापा, मिजार समाज गण्डकी प्रदेश अध्यक्ष शालिकराम नेपाली, फिल्मकर्मी विकास सुवेदी, साहासी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान पोखराका उपाध्यक्ष उमादेवी रोका, सचिव शंकर नेपाली, सामाजिक अभियन्ता उमेश सिके, प्रकाश शर्मा लगायतले विद्यमान जातीय भेदभाव अन्त्य गर्न सरोकारवाला एकजुट हुनुपर्ने विचार राखे ।
विसं २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’का रूपमा मनाउने गरिएको छ । नेपालमा दलित समुदायमाथि हजारौँ वर्ष पहिलेदेखि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
जातीय समानता तथा छुवाछुत मुक्त पालिका घोषण कार्यविधि २०७९ अनुसार केही पालिका समेट्त घोषणा भएका छन् । सरकारले जातीय विभेद र छुवाछुत अन्त्यको घोषणा गरे पनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण छँदै छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया