‘शिवांशः च्याप्टर १’ असारबाट

समाधान संवाददाता २०८२ जेठ २२ गते ११:३४

पोखरा ।
चलचित्र ‘शिवांशः च्याप्टर १’ को छायांकन अन्तिम चरणमा पुगेको छ । पोखरा वरपरका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमा चलचित्रको छायांकन भइरहेको छ ।

Advertisement


अहिलेसम्म ७० प्रतिशत छायांकन सकिएको निर्देशक सन्तोषकुमार आत्रेयले जानकारी दिए । चलचित्र छायांकनका लागि ४५ जनाको टोली यति बेला पोखरामा छ । भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेको विषयवस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए ।


फिल्ममा समाज वरिपरीकै कथा र त्यस बिचमा हुने शक्ति संघर्षमा आधारित रहेको बताइएको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपानेले मुख्य भूमिका निर्वाह गरेका छन् भने विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement


चलचित्रमा थियटर कलाकारको वर्चस्व छ । निर्माता अञ्जान केसीले चलचित्रको कथा तयार गतेका हुन् । करिब ७ वर्षको मेहनतलाई पर्दामा उतारेको उनले बताए । पटकथा भने बारत लिम्बुको छ । यो चलचित्रबाट आत्रेयले निर्देशनमा डेब्यु गरेका हुन् । यस अघि उनले नेपाली चलचित्र धौली र हुक्काको स्टोरी, स्क्रिन प्ले राइटरका रूपमा काम गरिसकेका छन् ।


न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा राजनराज शिवाकोटी र विप्लव प्रतीकले गीत लेखेका छन् । स्वर भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको निर्माता केसीले जानकारी दिए । फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेम्याट्रोग्राफी छ भने चलचित्रका कार्यकारी निर्माता शम्भु थापा हुन् ।

Advertisement


चलचित्रको लागत करिब ३ करोड हुने बताइएको छ । चाडपर्वको छेको पारेर आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रलाई डिसिएनले वितरणको जिम्मा लिएको छ ।

तपाईको प्रतिक्रिया