लेखनाथको विकासका लागि एकता आवश्यक

समाधान संवाददाता २०८२ जेठ २४ गते १६:१३

लेखनाथ ।

पोखरा महानगरपालिकाभित्र रहेर पनि लेखनाथलाई उपमहानगरीय सहरका रूपमा विकास गर्न एकता र साझा धारणाको आवश्यकता रहेको बताइएको छ । लेखनाथ पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको विकास बहसमा अधिकांश वक्ताहरूले पोखरामा लेखनाथलाई गाभिए पनि पुनः लेखनाथ नगरपालिकाको खोजी गर्नुभन्दा नयाँ पोखराको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूले पुनः लेखनाथ नगरपालिका बनाउने प्रयासले विकासमा पछाडि धकेलिने खतरा रहेको बताए ।
पोखरा महानगरपालिकाको वडा नम्बर २६ देखि ३३ सम्मका आठ वडाका वडाध्यक्षहरू प्रमुख वक्ताका रूपमा सहभागी भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस क्षेत्रको विकासमा प्रभाव पार्ने राष्ट्रिय गौरवका योजनाहरू छनोट गरी तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्रोतपत्र प्रस्तुत गर्दै यहाँका प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने योजनाहरूलाई प्राथमिकता दिनुपर्ने बताए । उनले पहिलो विकासको आधार वडास्तरबाटै फोहोर व्यवस्थापन योजना र सात तालको बगैंचा सहरको नारालाई सार्थक बनाउन एकीकृत ताल विकास योजनाको बारेमा जानकारी गराए ।

Advertisement

उनले योजना बनाउने तर कार्यान्वयनमा कम चासो देखाउँदा विकास पछाडि परेको विषय उठान गर्दै पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयलाई जोडेर विकास योजना बनाउन सकिने, क्षेत्रीय बसपार्क र औद्योगिक क्षेत्रका योजनामा दलगत स्वार्थभन्दा माथि उठेर जनप्रतिनिधिहरूले चासो दिनुपर्ने सुझाव दिए ।

यसैगरी, वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विगतका कमजोरीहरूलाई एक ठाउँमा राखेर नयाँ सोच र योजनाका साथ लेखनाथलाई नयाँ पोखराको रूपमा विकास गर्न क्रमागत योजना अघि बढाउनुपर्ने तर्क राखे ।

Advertisement

वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सरकारी काममा सरकारी निकायबाटै अवरोध हुने गरेकोले योजनाअनुसार काम हुन नसकेको बताउँदै नागरिकले पनि आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले लेखनाथ क्षेत्रको पहाडी भू–भागलाई सौन्दर्यकरण गर्न एकीकृत योजनाको आवश्यकता रहेको विचार राखे ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामशरण नेपालीले गरेका थिए भने स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कविराज खनालले राखेका थिए । कार्यक्रमको सहजकर्ताका रूपमा मञ्चका उपाध्यक्ष सन्दीप पौडेल र टिप्पणीकारका रूपमा मञ्चका संस्थापक अध्यक्ष भीमपाणी बराल र पूर्व सल्लाहकार भरतप्रसाद तिवारी थिए ।

तपाईको प्रतिक्रिया