रैथाने बाली थन्क्याउने चटारोमा मुस्ताङका किसान

सुन्दरकुमार थकाली २०८२ जेठ २४ गते १६:१८

मुस्ताङ ।

मुस्ताङका किसान यतिबेला रैथाने बाली थन्क्याउन व्यस्त छन् । तल्लो मुस्ताङका तीन पालिकामा मंसिरमा छरिएको जौको बाली जेठको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म थन्क्याउने प्रचलन छ ।

जौ र उवा हिमाली क्षेत्रका दुर्लभ रैथाने खाद्य बाली हुन् । समुद्री सतहबाट २ हजारदेखि ४ हजरा मिटर उचाइमा यी बाली खेती गरिन्छ । बाहिरी बनावटमा उस्तै देखिने जौ र उवाको उचाइ करिब १२० सेन्टिमिटर हुन्छ । जौको बालामा उवाको तुलनामा केही काँडेदार गुण बढी हुन्छ । यी बालीको डाँठ सुरुमा हरियो हुन्छ, पाक्दै जाँदा हल्का पहेँलो रङमा परिणत हुन्छ ।
मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका किसानले परम्परागत रूपमा जौ र उवा खेती गर्दै आएका छन् । यहाँ यी बाली व्यावसायिक प्रयोजनभन्दा घरायसी उपयोग र चाडपर्वका लागि खेती गर्ने चलन छ ।

Advertisement

तर, प्रविधिको पहुँच अभावमा परम्परागत खेती प्रणाली झन्झटिलो र खर्चिलो बनेको छ । किसानले जौ र उवाको बाली हसियाले काटेर खेतमै तीन दिनसम्म सुकाउँछन् । कतिपयले फलामको काँडेदार उपकरण (सोबाङ) प्रयोग गरी बाला छुट्याउँछन् । जौ र उवाको पराल पशुचौपायालाई घाँसको रूपमा प्रयोग गरिन्छ भने केस्रालाई घाममा सुकाएर भण्डारण गरिन्छ ।
घरपझोङ गाउँपालिका–४, जोमसोमका किसान राजेन्द्र शेरचनले कार्तिक–मंसिरमा जौ छरेर जेठमा थन्क्याउने र उवा असारको पहिलो हप्तामा थन्क्याउने प्रचलन रहेको बताए । ‘जौ र उवा बाहिरबाट उस्तै देखिन्छन्, तर जौ छरेपछि लगत्तै उवा छर्ने गरिन्छ,’ उनले भने ।

Advertisement

हिउँदे बालीका रूपमा रहेका जौ र उवा थन्क्याएपछि तल्लो मुस्ताङमा बर्खे बालीका रूपमा मकै, फापर र सिमी खेती गर्ने प्रचलन छ । उपल्लो मुस्ताङमा भने वर्षमा एकपटक मात्र बाली लगाइन्छ ।

रैथाने बाली संरक्षणमा चुनौती
स्थानीय किसान अजित थकालीका अनुसार परम्परागत खेती प्रणाली झन्झटिलो र खर्चिलो भएकाले रैथाने बाली जोगाउन कठिनाइ छ । “परम्परा धान्नकै लागि मात्रै जौ र उवा खेती गरिरहेका छौँ,’ उनले भने । उनले रैथाने बाली संरक्षणका लागि सरकारले आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताए । ‘केही किसानले मात्रै कृषि यान्त्रिकीकरण उपकरण अनुदानमा पाएका छन् । रिफर र थ्रेसर मेसिन सबै किसानको पहुँचमा हुनुपर्छ,’ उनले थपे ।

घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने बाली जोगाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । ‘किसानलाई प्रोत्साहन, अनुदान र तालिमको व्यवस्था गरिएको छ,’ उनले भने । तर, स्याउ र आलु खेतीबाट मनग्य आम्दानी हुने भएकाले किसानको ध्यान जौ र उवातर्फ कम भएको उनको भनाइ छ ।

जौ र उवाको महत्व
मुस्ताङमा उत्पादित जौ र उवा पोषिलो, स्वादिलो र धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । यी बालीबाट घरेलु रक्सी, सातु र पछिल्लो समय बेकरी उद्योगमा प्रयोग हुने पिठो बनाइन्छ । रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि प्रविधिको उपयोग र सरकारी सहयोग अपरिहार्य रहेको किसानहरू बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया