कालिदासको कृति विमोचन

पोखरा ।
त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान, पोखराले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त ग्रन्थको विमोचन गरे ।
यो ६७८ पृष्ठको ग्रन्थमा सर्जक तिमिल्सिना, जो पर्वत जिल्लाको मोदी गाउँपालिका–७, राम्जा देउरालीका बासिन्दा हुन् र हाल पोखरा–चाउथेमा बस्छन्, को आत्मकथा र आत्मबोधसँगै परिवार, स्वजन, जन्मस्थानका साथीभाइ, छिमेकी, नवजागृत मावि पर्वत, महेन्द्रशिखरी मावि पर्वत, भवानीकालिका मावि६९४ कास्की, नवीन मावि कास्की, पृथ्वीनारायण क्याम्पसका कार्यरत तथा अवकाशप्राप्त प्राध्यापक, कर्मचारी, विद्यार्थी, सामाजिक, राजनीतिक र अन्य क्षेत्रका सहकर्मीहरू गरी विभिन्न १३ क्षेत्रका १७६ जनाको अनुभूति समेटिएको छ ।
राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले विगतका सङ्घर्ष र घटनाक्रमहरू ग्रन्थमा समेटिएकोले यो नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए । उनले नयाँ पुस्ताले विगतको जानकारी लिन नचाहने प्रवृत्तिका कारण समस्या भएको उल्लेख गर्दै विगतमा के भयो र वर्तमान अवस्था कसरी आयो भन्ने विषयमा अध्ययन गर्न सुझाए । उनले भने, ‘हाल एक–दुई प्रतिशत नकारात्मक कुरा होलान्, तर ९४–९५ प्रतिशत राम्रा कुराहरू छन् ।
हामीमा राम्रा कामभन्दा नराम्रा र सामान्य कुरालाई उचाल्ने प्रवृत्तिका कारण धेरै समस्या आएका छन् ।’ उनले विगतमा राजाको शासनकाललाई ‘कालो इतिहास’ को संज्ञा दिँदै त्यसबारे जानकारी नलिनेहरूले अहिले राजाको पक्षमा उभिने गरेको आरोप लगाए । उनले थपे, ‘विगतको जानकारी लिन धैर्य र अध्ययन आवश्यक छ, तर नयाँ पुस्ताले धैर्य र अध्ययन नगरी अमेरिका र युरोपको सपना देख्ने गरेकोले समस्या भएको छ ।’
प्रकाशक धनेश्वरी पराजुली (तिमिल्सिना) ले समाज रूपान्तरणका सन्दर्भमा गरिएका शैक्षिक र सामाजिक गतिविधि, त्यस समयको प्रवृत्ति, सोच र कामका प्रतिनिधिमूलक घटनाहरू ग्रन्थमा समेटिएको बताइन् । ग्रन्थमा लेखकको पारिवारिक र व्यक्तिगत अवस्था, शिक्षा, शैक्षिक सहभागिता, समाज रूपान्तरणका प्रयास र अनुभवहरूका साथै छिटोछिटो बदलिँदो नेपाली समाज र त्यससँग जुधिरहेको नेपाली जीवनको विश्लेषण गरिएको छ । उनले स्वार्थी समूहबाट सचेत रहँदै काममा संलग्न हुनुपर्ने सन्देश ग्रन्थमा रहेको बताइन् ।
सर्जक तिमिल्सिनाले ग्रन्थमा आफूमाथि परेका कुराहरू उल्लेख गरेको र आफूले गरेका कामहरू कम मात्र समेटिएको बताए । उनले तत्कालीन परिवेशअनुसारका अनुभव र ज्ञानको विस्तृत वर्णन गरेको उल्लेख गरे । समाजलाई अग्रगतिमा लैजान स्वार्थ र विभेद त्यागेर अन्यायविरुद्ध उभिनुपर्ने बताउँदै समाज रूपान्तरणका लागि काम गर्ने व्यक्तिले कठिनाइ भए पनि निरन्तरता दिनु नै सफलताको बाटो भएको उनको भनाइ छ ।
ग्रन्थको विमोचनपछि समालोचना गर्दै प्रा.डा. रामनाथ ओझाले यो ग्रन्थ तिमिल्सिनाको व्यक्तिगत अनुभूतिमात्र नभई राष्ट्रिय राजनीतिको दस्तावेज भएको बताए । उनले ग्रन्थमा नेपालको राजनीतिक इतिहासका पत्र–पत्रहरू एक–अर्कोसँग जोडिएर प्रस्तुत भएको उल्लेख गरे । सर्जकले बुद्धिजीवीहरूका लागि चिन्तन–मनन र अनुसन्धान गर्ने सामग्रीको रूपमा र वर्तमान नेपालको राजनीतिक अनुहारमा देखिएको विद्रूपताको सजीव चित्रण ग्रन्थमा गरेको उनले बताए ।
नेपाल नाट्यप्रतिष्ठान, पोखराका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले सर्जकले ‘स्व’ चेतनाको गहिरो सम्बन्ध वर्तमानसँग जोडिएको वास्तविकतालाई उद्घाटन गरेको बताए । ग्रन्थले सर्जकलाई लगनशील अध्येता, विवेकशील द्रष्टा र धैर्यशील राजनीतिक कर्मीको रूपमा स्थापित गरेको उल्लेख गर्दै उनले स्वचेतना, राजनीतिक चिन्तन र मानवतावादी विचारलाई अध्ययन गर्न चाहने अध्येता, अनुसन्धाता, विचारक र साधारण विद्यार्थी सबैका लागि ग्रन्थ उपयोगी रहेको बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया