सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडियो

समाधान संवाददाता २०८२ जेठ २६ गते १८:५७

जोमसोम ।

मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएको छ । मुस्ताङका पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको आर्थिक सहयोग तथा ढुवानी व्यवस्थापनमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सीएमसी) ले शनिबार सेकुङ र भुतर्र्छो तालमा कमन कार्प जातका माछाका भुरा छाडेको हो ।

पूर्व संघीय सांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले सेकुङ र भुतर्र्छो तालमा १० हजार माछाका भुरा छाडेका हुन् । नाकुम संरक्षण व्यवस्थापन समितिका सदस्य मनप्रसाद गौचनले यो जानकारी दिए ।

Advertisement

ॅयसअघि पनि पूर्व संघीय सांसदज्यूले यहाँका दुई तालमा माछाका भुरा ल्याएर छाड्ने गर्नुभएको थियो । हामी संरक्षण व्यवस्थापन समितिसँग समन्वय गरी तालमा माछा छाड्ने काममा सहयोग गर्नुहुन्थ्यो । यस वर्ष पनि उनको विगतकै कार्यक्रमअनुसार हामीले तालमा माछाका भुरा छाडेका हौँ,’ उनले भने ।

समुद्री सतहबाट झन्डै तीन हजार मिटर उचाइमा अवस्थित थासाङ गाउँपालिका–२ मा रहेको सेकुङ तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको नाकुम संरक्षण व्यवस्थापन समिति (सीएमसी) ले उल्लेख गरेको छ । सेकुङ र भुतर्र्छो तालमा माछाको प्रवद्र्धन र विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन माछापालन गरिएको समितिका अर्का सदस्य गोविन्द शेरचनले जानकारी दिए । ॅयहाँका सेकुङ र भुतर्र्छो ताललाई माछा हब बनाउने र पर्यटकहरूलाई आकर्षित गर्न फिस हन्टिङको व्यवस्था मिलाउने तयारी गरिएको छ,’ समिति सदस्य शेरचनले भने । उच्च स्थानमा अवस्थित यी तालहरूमा उपयुक्त हावापानी भएकाले माछापालनलाई पहिलो प्राथमिकतामा राखिएको र यसबाट समितिले आर्थिक आम्दानी गर्न सकिने उनको भनाइ छ ।

Advertisement

राष्ट्रिय गौरवको बेनी–जोमसोम मुख्य राजमार्गबाट पश्चिमतर्फ उकालो लागेमा सवारी साधनमार्फत १५ मिनेटमा यी तालहरूमा पुग्न सकिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका यी दुई तालहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् । थासाङका सेकुङ र भुतर्र्छो तालको आवश्यक संरक्षण, प्रचार–प्रसार, समुचित व्यवस्थापन र स्तरोन्नति गर्नुपर्ने स्थानीयहरूको भनाइ छ ।
सेकुङ तालको पानीको सतह वृद्धि गर्नुपर्ने र आवश्यक सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ । थासाङ र सेकुङ तालमा बर्सेनि स्थानीयहरूले प्रकृति पूजा गर्ने प्रचलन छ । मुख्य राजमार्गबाट सेकुङ ताल हुँदै भुतर्छो तालसम्म कच्ची सडक विस्तार भएको छ । तर, तालसम्म पुग्ने सडक जीर्ण हुँदै गएकाले आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।

सेकुङ ताल र भुतर्छो तालबाट नीलगिरी र धौलागिरी हिमाल मनमोहक देखिन्छन् । सल्ला र धूपीको घना जंगलमा अवस्थित यी तालहरू पर्यटक आकर्षणको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेका छन् । ताल आसपासका खर्कमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुंगीको बासस्थान रहेको छ । ताल नजिकै चौँरी खर्क छ । तालमा पिकनिक खाने र सुटिङ स्पोर्टको सम्भावना पनि छ ।

तपाईको प्रतिक्रिया