किसानलाई कृषि औजार सहयोग

समाधान संवाददाता २०८२ जेठ २७ गते १३:४८

लेखनाथ ।
कृषिलाई व्यावसायिक बनाउन सहयोग गर्न पोखरा महानगरपालिका वडा नं. २६ ले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । वडाको आर्थिक सहयोगमा कृषि सञ्जाल पोखरा २६ को संयोजनमा सोमबार ५सय ५० कृषकलाई विभिन्न किसिमका कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

Advertisement


पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडालाई समृद्ध बनाउने लक्ष्य पूरा गर्न विभिन्न योजनामा वडावासीको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले प्राप्त कृषि सामग्रीको भरपूर प्रयोग गरी उत्पादन वृद्धि गर्न र बाँकी उत्पादनलाई बजारमा लैजानेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।


अर्घौ कृषि सेवा केन्द्रका प्रमुख सन्तोष सुवेदीले राज्यले किसानका लागि छुट्याएको अनुदानकोसदुपयोग गरी निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन अग्रसर हुन अनुरोध गरे । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले आधुनिक कृषि प्रणालीको प्रयोग गरी आयआर्जन वृद्धितर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे ।

Advertisement


कृषि सञ्जाल पोखरा २६ अध्यक्ष केशवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, विजयपुर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सञ्जालका सचिव ईश्वरराज भण्डारी, सहसंयोजक देवी ढुंगाना लगायतले बोलेका थिए ।

कार्यक्रममा १ सय जनालाई त्रिपाल, ४५ जनालाई टनेल प्लास्टिक, २ जनालाई कुटानी–पिसानी मेसिन, पाँच जनालाई पानी तान्ने मेसिन वितरण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया