जन्म जिल्ला कास्कीमै चुनाव लड्न प्रचण्डलाई दबाब !

पोखरा ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीबाट आगामी चुनाव लड्ने संकेत गरेका छन् । मंगलबार पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कास्की र पोखरासँगको सम्बन्ध सधैं अटुट रहने उल्लेख गर्दै यहाँबाट चुनाव लड्न सक्ने सम्भावना व्यक्त गरे । ‘मलाई धेरै बुद्धिजीवी र कार्यकर्ताहरूले कास्की आउनुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘म तपाईंहरूसँगै छु । म यहाँ आउनमात्रै होइन, म जहाँबाट चुनाव लडे पनि, नलडे पनि कास्की र पोखरासँग हाम्रो सम्बन्ध यथावत् रहनेछ ।’
कार्यकर्ताबाट कास्कीबाट चुनाव लड्न दबाब आउन थालेपछि प्रचण्डले आफूले पनि त्यसबारे गम्भीरतापूर्वक लिएको बताए । ‘मलाई लाग्छ, ६ देखि ८ महिनाभित्र कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ,’ उनले भने, ‘नयाँ पोखरा, नयाँ कास्की बनाउन सकिन्छ ।’
प्रचण्डको राजनीतिक जीवनमा निर्वाचन क्षेत्र परिवर्तन नयाँ होइन । २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा–२ बाट उम्मेदवारी दिएका उनी दुबै क्षेत्रमा विजयी भए । त्यसपछि काठमाडौं–१० रोजेका थिए । २०७० सालमा काठमाडौं १० र सिराहा–५ बाट लडे, काठमाडौंमा पराजित भए पनि सिराहाबाट विजयी भए । २०७४ सालमा चितवन २ बाट र २०७९ मा गोरखा २ बाट चुनाव जिते ।
कास्कीको अन्नपूर्ण गाउँपालिका (साविक ढिकुरपोखरी–२ लेवाडे) मा जन्मिएका प्रचण्डले शैक्षिक यात्रा पनि यहींबाट सुरु गरेका थिए । महेन्द्र आधारभूत विद्यालयमा शिशु कक्षादेखि एक कक्षा पढेपछि उनको परिवार चितवन सरेको थियो ।
०८४ को निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड कास्की फर्कने संकेतसँगै स्थानीय कार्यकर्तामा उत्साह देखिएको छ । अबको चुनावमा उनी कास्कीबाट उठ्छन् कि उठ्दैनन् भन्ने बहस चलिरहेको बेला उनले आफूलाई कार्यकर्ताले चुनाव लड्न गरेको आह्वान मंगलबार पोखरा महानगरको सम्मेलनमा उनले सुनाएका हुन् । ‘जनताको त्यो भरोसा, त्यो विश्वासलाई हामी चौरासीको जस्तो विचलित हुन दिने छैनौं,’ उनले भने, ‘चौसठ्ठीको जस्तो विभाजित हुन पनि दिने छैनौं । बरु इमानदार, देशभक्त, प्रगतिशील र क्रान्तिकारी शक्तिहरूलाई एकजुट बनाएर नयाँ अभियान सुरु गर्नेछौं ।’
उनले पोखरामा जनतामाझ पुनः माओवादीप्रति आकर्षण देखिएको दाबी गरे । ‘माओवादीले मात्रै हाम्रो मुद्दा, हाम्रो हकहित सही ढंगले सम्बोधन गर्न सक्छ भन्ने जनविश्वास फर्कंदै गएको मैले महसुस गरेको छु,’ प्रचण्डले भने । शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र स्थापनाका बेला जस्तै अहिले जनताले ठूलो जिम्मेवारी माओवादीलाई दिन खोजेको उनले बताए ।
‘जनयुद्धको तयारीदेखि संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दा जस्तै जिम्मेवारी अहिले पनि जनताले हामीलाई दिन चाहेका छन्,’ प्रचण्डले भने, ‘हामी त्यो विश्वासमा खरो उत्रन सक्छौं कि सक्दैनौं ? त्यो हाम्रो अग्निपरीक्षा हो ।’
उनले जातीय, लैंगिक र सामाजिक विविधताबीचको समावेशी आन्दोलन फेरि सशक्त रूपमा अघि बढाउनुपर्ने बताए । ‘महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, थारु सबै समुदायले फेरि एकपटक माओवादीतिर भरोसा गरेका छन्,’ उनले भने, ‘हामीले त्यो विश्वासलाई इमानदारीपूर्वक जनताको पक्षमा प्रयोग गर्नुपर्छ ।’
उनले अघिल्ला निर्वाचनहरूमा माओवादीले प्राप्त गरेको अपार समर्थनलाई कायम राख्न नसकिएको स्वीकार गरे । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्यौं, त्यो हाम्रो कमजोरी थियो,’ उनले भने, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’
उनले पार्टी एकताको लहर पुनः सुरु भएको उल्लेख गर्दै हालै माओवादी केन्द्रमा गंगा श्रेष्ठको समूह, नेपाः राष्ट्रिय पार्टी, जनता समाजवादी पार्टीका केही नेता तथा पोखराबाट बाबुराम भट्टराई समूहका किरण थापा नेतृत्वको समुह समाहित भएको जानकारी दिए ।
‘हिजोका सपना बोकेका साथीहरू पुनः माओवादी केन्द्रमा फर्किंदै छन्,’ उनले भने, ‘यो केवल पार्टी एकता होइन, नयाँ आन्दोलन र नयाँ क्रान्तिको सुरुवात हो ।’ उनले सुकुम्बासी समस्या समाधानका लागि माओवादी नेतृत्वको सरकारले पहल गरेको भन्दै अब आवश्यक परे सडकमा उत्रने चेतावनी पनि दिए । ‘जरूरी पर्यो भने संसद् मात्र होइन, सडक र सरकारका मोर्चाबाट पनि लडाइँ लड्छौं,’ उनले ।
कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) परित्याग गरी केन्द्रीय सचिवालय सदस्य किरण थापा (अमोद) माओवादी केन्द्र प्रवेश गरे । उनीसहित नयाँ शक्तिका गण्डकी प्रदेशका नेता शम्भु खाती, लक्ष्मी खाती, कास्की अध्यक्ष राजु क्षेत्री लगायत १४ जना माओवादी केन्द्र प्रवेश गरे । उनीहरुलाई अध्यक्ष दाहालले स्वागत गरेका हुन् ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया