स्थलगत रिपोर्टिङ सिकाइयो

समाधान संवाददाता २०८२ जेठ २८ गते १०:५३

पोखरा ।
प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठनको संयुक्त आयोजनामा पोखरामा स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि आयोजित तालिम मंगलबार सकिएको हो ।

Advertisement


तालिममा नयाँ पत्रिका दैनिकका वरिष्ठ संवाददाता शिवहरि ढुंगानाले स्थानीय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राइटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । फोटो पत्रकार राम थापाले फोटो पत्रकारिताबारे सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।


तालिममा सहभागी ६५ पत्रकारहरुलाई पोखरा २१, ३३ र ३० का विभिन्न ठाउँमा निर्माण भइरहेका सडकहरुको स्थलगत अवलोकन गरी त्यसको स्थलगत रिपोर्टिङ सीप सिकाइएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकारले स्थलगत रिपोर्टिङ गरेमात्रै सत्यतथ्य बाहिर आउने अवस्था बन्ने बताए । अन्यथा कसैले भनेको वा सुनेको भरमा मात्रै समाचार लेख्दा तथ्य लुक्ने खतरा रहने उनको भनाइ छ ।

Advertisement


जति गरे पनि काम गरेन वा भएनमात्रै भन्ने मानसिकता विकास भएको भन्दै उनले भने, ‘पोखरा महानगरले कति धेरै काम गरेको छ तर जहिले पनि गरेन भन्नेमात्रै भाष्य तयार गरिएको छ । त्यसैले पत्रकार साथीहरुले फिल्डमै गएर महानगरले गरेको कामको सत्यतथ्य उजागर गरिदिनुहुन अनुरोध गर्दछु ।’ उनले पोखरामा एडिबी र विश्व बैंकसँग मिलेर २७ अर्ब भन्दा बढीको काम भइरहेको दाबी गरे ।


‘मेरै कार्यकालमा सबै काम सकिन्छ भन्ने पनि छैन,’ आचार्यले भने, ‘तर म निर्वाचित भएर आएदेखि नै गौरवको आयोजनाहरु तथा अन्य योजना अगाडि बढिरहेका छन् । यसले विकासको फड्को मार्ने अपेक्षा गरेको छु ।’

Advertisement


कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले स्थलगत रिपोर्टिङ पत्रकारिताको मुख्य मर्म भएको बताए । यसको अभ्यास बिना पत्रकारिता भुत्ते हुने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले स्थलगत रिपोर्टिङले मात्र पत्रकारितालाई जीवन्त बनाउने बताए ।


समाजवादी प्रेस संगठन कास्कीका सचिव भीमबहादुर थापाले पत्रकारिताको सुदृढीकरणसँगै पत्रकारको सशक्तीकरणमा महानगरले सघाउनुपर्ने बताए । तालिमको अन्तिम दिन मंगलबार प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।


तालिममा सहभागी सरला त्रिपाठी र असफल गौतमले तालिम स्थलगत रिपोर्टिङ अभ्यासका लागि फलदायी भएको बताए । तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै उनीहरुले यस्ता तालिमहरु आगामी दिनमा पनि आयोजना भइरहनुपर्नेमा जोड दिए ।


प्रशिक्षक ढुंगानाले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । ‘अभ्यासले मात्रै पोख्त बनाउँछ’, उनले भने । प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा तालिम कार्यक्रम संयोजक पुष्प दाहाल रसचिव सरोज अधिकारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया