सुनचाँदी व्यवसायी आन्दोलित : २ दिन व्यवसाय बन्द गर्ने

समाधान संवाददाता २०८२ जेठ २९ गते १०:५८

पोखरा ।
सरकारले सुनमा कर र हिरामा भ्याट लगाउने तयारी गरेसँगै नेपाल सुनचाँदी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । घोषणापछि सुनचाँदी व्यवसायी संघ कास्की नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्की र हस्तकला महासंघले संयुक्त रुपमा बिहीबारदेखि चरणवद्ध आन्दोलन गर्ने भएका हुन् ।


सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने तयारी गरेकाले त्यसैको विरोधमा केन्द्रको परिपत्र अनुसार कास्कीमा पनि आन्दोलनको घोषणा गरिएको सुनचाँदी व्यवसायी संघ कास्की अध्यक्ष भविन्द्र विश्कर्माले बताए । अध्यक्ष विश्वकर्माले भने, ‘महँगो कर प्रणालीका कारण उपभोक्ता सुन किन्न हिच्किचाउने र बजार थप मन्दीमा जाने निश्चित छ । माग सम्बोधन नभए हामी व्यवसाय बन्द गरेर ताला चाबी सुम्पने परिस्थिति आउन सक्छ ।’


महासंघहरूले सरकारसँग कर संरचनाको पुनरावलोकन गर्न आग्रह गरेका छन् । उनीहरूले सुनमा प्रस्तावित २ प्रतिशत विलासिता कर तुरुन्त खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा लागू गरिने भनिएको १३ प्रतिशत भ्याट फिर्ता लिनुपर्ने र सम्बन्धित व्यवसायी र महासंघहरूको राय र सुझावका आधारमा व्यवसायमैत्री र उपभोक्तामैत्री कर नीति पुनः तयार गर्नुपर्ने माग राखेका छन् ।

Advertisement


कर नीति निर्माणमा व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने र बजारको यथार्थ अवस्था अध्ययन नगरी कर निर्धारण गर्न नहुनेमा उनीहरूको जोड छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्की अध्यक्ष भरत विकले यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चाबीसहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने बताए ।


सरकारले व्यवसायी र उपभोक्ताको सुझाव र मागलाई बेवास्ता गर्दै करको चर्को भार लाद्न खोजेको उनको आरोप छ । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लागू गर्न खोजेको कर नीतिले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसाय मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष असर पार्ने बताएका छन् । महासंघले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकाले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गरिनुपर्ने समेत माग गरेको छ ।

Advertisement


आफ्ना माग पूरा नभएसम्म चरणवद्ध आन्दोलन गर्दै जाने नेपाल सुनचाँदी व्यवसायी महासंघ, गण्डकी अध्यक्ष चन्द्रकिशोर गौतमले बताए । सरकारलाई ध्यानाकर्षण र ज्ञापनपत्र बुझाउँदा पनि आफूहरुको माग सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया