
जोमसोम ।
वर्षौ वर्षदेखि कालिगण्डकी नदी वारपार गर्न मुस्ताङको थासाङ गाउँपालिका २ सौरु र सिर्कुमबासीले अनेक अप्ठेरा सामना गर्नुपरेको छ । त्यसबाट पार पाउन गाउँलेले त्यहाँको कालिगण्डकी नदीमा निर्माणाधीन पुलको लठ्ठो तान्न कार्यमा सामूहिक श्रमदान गरेका छन् ।
करिब ९० जना स्थानीयको समूहले दुई दिनसम्म स्वतःस्फूर्त रुपमा पुलको लाट्ठो तान्ने काममा श्रमदान गरेको हो । मुस्ताङको थासाङ २ को कालिगण्डकी नदी वारिपारी कोवाङ—सौरु जोड्ने ५ सय ७० मिटर लामो सस्पेन्सन पुल निर्माणका लागि सामूहिक रुपमा स्वेच्छिक श्रमदान गरेको सौरु गाउँका स्थानीय सोजन हिराचनले जानकारी दिए ।
कोवाङ सौरु संस्पेन्सन पुल निर्माणका लागि सौरु, सिर्कुम र कोवाङ खन्ती गाउँका जनताले भौतिक श्रमदान गरेको सौरुका स्थानीय हिराचनको भनाइ छ । कालिगण्डकी नदीमा पुल नहुँदा सदिंयौ वर्षदेखि निकै ठूलो सास्ती भोग्दै आएका सौरु र सिर्कुमबासीको सपना अब भने पूरा हुने संकेत देखिएको थासाङ २ का वडाध्यक्ष गौतम शेरचनले उल्लेख गरे ।
‘यहाँ पुल नहुँदा बर्खायामको साउन र भदौ महिनामा पूरै नाकाबन्दी लगाए जस्तै हुन्थ्यो, सौरु र सिंकुम गाउँका जनता मुख्य सडक र पालिका कार्यालयमा आउनु पर्दा पनि कोखेठाँटी पुलबाट घण्टौ यात्रा गर्नुपर्ने थियो’, वडाध्यक्ष शेरचनले भने, ‘अब त लगभग पुल बन्ने छेकछन्द मिलेको छ, पुल बनेपछि बाह्रै महिना कालिगण्डकी वारिपारी आउजाउ गर्न निकै सहज हुने भयो ।’
‘कहिले पुल बन्ला र बर्खायाममा पनि कालिगण्डकी वारपार गर्न पाइएला भन्ने सोचेका थियौं’, सौरुका स्थानीय दीपक तुलाचनले भने, ‘ढिलै भए पनि अब भने पक्का पुल बन्ला जस्तो लागेको छ । पुल बनेपछि त हामीलाई हरेक काममा निकै ठूलो सहयोग पुग्नेछ ।’ उनले पुल बनेपछि स्वास्थ्य, शिक्षा र सरकारी कामकाजका साथै यहाँको कृषि उपजको बजारीकरण गर्नमा समेत पुलले योगदान पुर्याउने जनाए ।
थासाङको कोवाङ सौरु संस्पेन्सन पुलको सिभिलको काम सकिएर अहिले फिनिसिंङका काम सुरु भइसकेको निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले जानकारी दिए । ‘अहिले पुलको लाठ्ठो तान्ने र लाठ्ठो फिटिङ गर्ने कामहरु भइरहेको छ, जनशक्ति पनि खटाइएको छ,’ श्रेष्ठले भने, ‘हामीहरु पुल सम्पन्न गर्ने दिशामा लागेका छौं, चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्नेतर्फ जुटेका छौं ।’ उनले पुलको स्याकिङको काम भइरहेको सुनाए ।
यसअघि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७७ वैशाखमा इलाइट रुविना कन्ट्रक्सन जेभीसँग पुलको ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा ज्वाइन्ट कम्पनीको रुविनाले पुल निर्माणको काम बिचैमा अलपत्र पारेको थियो ।
३० महिनामा सकिनुपर्ने पुल निर्माण कम्पनीका कारण पटक म्याद थप हुँदै आएको थियो । त्यसपछि इलाइटले अलपत्र पुलको काम सम्हालेको थियो । २०७९ साल कार्तिकमा सकिनुपर्ने पुल सम्झौता अवधि सकिएको ३ वर्षको फेरोमा कामले गति लिएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया