बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित

समाधान संवाददाता २०८२ जेठ ३० गते १२:०४

ढोरपाटन ।

बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् ।


बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका ४ सय ४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उनको भनाइ छ ।

Advertisement

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४ सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका ३ सय २७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ती सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।


ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ८ जना र १६ देखि २३ महिना उमेर समूहका ४ सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भूमिश्वर शर्माले बताए ।

Advertisement


गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा नौवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३ सय १३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २ सय २६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।


ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १ सय २३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए । पलिकामा ६ वटा स्वास्थ्य संस्था रहेको र ती सबैबाट खोप सेवा दिइरहेको उनको भनाइ छ ।

बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १ सय ३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५ सय ९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुनःजानकारी दिनुभयो । गाउँपालिकाभर १० वटा स्वास्थ्य संस्था छन् । ती सबैबाट बालबालिकालाई खोप दिने गरेको उनको भनाइ छ ।


जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १ सय ६३ जना र १६ देखि २४ महिना उमेर समूहका १ सय १४ जना बालबालिकालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।


गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए । सुरुमा सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको उनको भनाइ छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपको मात्रा पूरा गरेको छन्त्याल बताए ।


काठेखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका २ सय २७ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका २ सय ७ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए ।


जिल्लाको निसीखोला गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४ सय ५२ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३ सय ७६ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख जुनी घर्तीमगरले बताइन् ।


बडिगाड गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४ सय ४० जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३ सय ५५ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले जानकारी दिए । पालिकाभरका बडिगाडमा १५ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिने गरिएको उनको भनाइ छ ।


यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न तयारी भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया