ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

समाधान संवाददाता २०८२ जेठ ३० गते १९:०३

पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो। मृतक तथा घाइतेको पूर्ण विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिए।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा उद्धार कार्य भइरहेको छ।

Advertisement

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेलाई उद्धार गरी बुर्तिबाङस्थित प्रादेशिक अस्पताल पठाइएको छ। “घटनास्थलमा हामी स्वयं उपस्थित भएका छौँ,” उपप्रमुख कायतले भने, “दुई जनाको मृत्यु भइसकेको छ। घाइतेलाई प्रहरी र नगरपालिकाको गाडीमार्फत अस्पताल पठाइएको छ। शव निकाल्ने प्रयास जारी छ।”

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ।

तपाईको प्रतिक्रिया