
पोखरा ।
श्रीमानको मृत्यु भएको १६ वर्षपछि पर्वतकी पार्वती पुनलाई विगतले फेरि रुवायो । गोरखा स्मारक संग्राहलयको दोस्रो तलामा राखिएको श्रीमान कुमार पुनको तस्विर नजिक पुग्दा उनको गह आँसुले भरियो । पूर्व निर्धारित तालिका अनुसार फोटो खिचाइसकेपछि केही पर पुगेर उनी भक्किानिइन् ।
सन् २००९ मे ७ मा अफगानिस्तानमा विद्रोहीबाट मारिएका कुमार पुनलाई पार्वतीले ब्रिटिस आर्मीको पोशाकमा सजिएको देखिन् । भौतिक शरीरले छाडेको वर्षौंपछि उही पहिरनमा देख्दा मन थाम्नै नसकेको उनको प्रतिक्रिया छ । ‘१६ वर्षअघि मैले श्रीमान् गुमाएको थिएँ । आज ब्रिटिस आर्मीकै ड्रेसमा देख्न मन थाम्नै सकिनँ,’ उनले भनिन् ।
उदयपुरकी रेनुका राई पनि छोरा रेमन्ड कुलुङ राईको तस्बिर देखेर निकै भावुक बनिन् । उनका छोरा रेमन्ड ब्रिटिस आर्मीको सेवाका दौरान १४ वर्षअघि अफगानिस्तानमै विद्रोहीको आक्रमणमा परेका थिए । ‘आमाको मन न हो जति नै वर्ष भए पनि रुन त मन लागिहाल्छ नि,’ उनले भनिन्, ‘मनभरी सम्झना अनि तस्बिर देख्दा भक्कानो छुटिहाल्छ ।’
पार्वती र रेनुकासँगै अरु ११ ब्रिटिस लाहुरेका दुई साताअघि पोखरा १६ दीप स्थित गोरखा स्मारक संग्राहलयमा जम्मा भएका थिए । जहाँ उनीहरुका आफन्तको तस्बिर ‘प्रोट्रेट’ अनावरण हुँदै थियो । जसको प्रोट्रेट सार्वजनिक हुन लागेको हो, उनीहरुको सेवाकै दौरान अफगानिस्तानमा मृत्यु भइसकेको छ ।
ब्रिटिस आर्मीमा भर्ती भएर अफगानिस्तामा सेवाका लागि तैनाथ रहँदा विद्रोहीको निशाना र एम्बुसमा परी ज्यान गुमाएका नेपालीको प्रोट्रेट अनावरण गरिएको हो । बेलायतको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा प्रदर्शनमा राखिएका ती चित्रलाई भेटरन्स क्यान टोलीले नेपाल ल्याएको हो । चित्रकार तथा भूतपूर्व सैनिक केभिन विल्सले अफगानिस्तानमा मारिएका ४ सय ५७ बेलायती सेनाका अधिकृत र सैनिकको चित्र कोरेका थिए ।
तीमध्ये गोर्खा ब्रिग्रेडका १५ जनाको तस्विर यहाँ ल्याइएको हो । पोखरास्थित गोरखा संग्राहलमा राखिएका तस्बिरमध्ये ११ जना नेपाली र ४ जना ब्रिटिस अफिसर छन् । लेक्स रोबर्ट, जोस बोक्यान, ड्रयुमोन बक्सटर र निल तुर्किङटोन ब्रिटिस हुन् । नेपालका कृष्णबहादुर दुरा, अर्जुन पुर्जा पुन, कुमार पुन, सिद्धान्त कुँवर, गजबहादुर गुरुङ, सचिव लिम्बु, विजय राई, सुरज गुरुङ, युवराज राई, रेमन्ड कुलुङ र ईश्वर गुरुङको प्रोटे«ट संग्राहलयमा राखिएको छ ।

चित्र अनावरण तथा हस्तान्तरण कार्यक्रममा नेपाल स्थित बेलायती राजदूत रब फेन, भेटरान्स क्यानका सह संस्थापक ग्यारथ विलियम्स, कमान्डो बिजिएन डान रेक्स पनि सहभागी थिए । बेलायतबाट यिनै चित्रसहित चित्रकार केभिन पनि नेपाल आएका थिए । चित्र हस्तान्तरण कार्यक्रममा घुँडामुनिको भाग नभए पनि सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक हरिबुढा मगर पनि सहभागी थिए ।
राजदूत रब फेन सहितको टोलीले प्रोट्रेट अनावरण गरेपछि उपस्थित आफन्तहरुले आ–आफ्ना सन्तानको तस्विर अगाडि बसेर फोटो खिचेका थिए । सो अवसरमा ४ जना ब्रिटिस अफसर भूतपूर्व गोर्खा सैनिक हरिबुढा मगरले फोटो खिचेका थिए । भने, नेपालीहरु सबैका आफन्त कार्यक्रममा उपस्थित थिए ।
तस्बिर खिचेपछि भावुक मुद्रामा रहेका उनीहरुले तस्बिर फ्रेम तर सम्झना मनमा रहेको प्रतिक्रिया दिए फोटोमा रहेका सुरज गुरुङका दाजु दीपकले प्रोट्रेट बनाउनु राम्रो काम भएको बताए । ‘मेरो भाइ सन् २००८ मा भर्ती भएको हो । १० मा सर्भिसकै क्रममा ज्यान गएको हो,’ उनले भने, ‘यसरी फोटो देख्दा आँसु आईहाल्छ नि । तर पनि फोटो बनाएर यहाँ म्युजियममा राखिएको छ । यसले गर्दा मेरो भाइको योगदान यहाँ आउने सबैले थाहा पाउँछन् ।’
पर्वतकी पत्नी पार्वती पनि श्रीमान् कुमारलाई संग्राहलयमा राखेर सह्रानीय काम भएको बताउँछिन् । ‘केभिन सरले चित्र बनाउनुभयो, एकदमै राम्रो हो । त्यो भन्दा पनि संग्राहलयमै राखिनु झर्न सह्रानीय काम हो,’ उनले भने, ‘घरमा लगेर राखियो भने म्युजियममा राख्यो भने उहाँको काम, योगदान त्याग सबैले थाहा पाउँछन् ।’ उनले पनि फोटो फ्रेममा सजाएर छाड्ने अनि सम्झना मनमा राखेर बेलायत फर्कने सुनाइन् ।
प्रोट्रेट तयार पार्ने केभिन पनि कर्ममा क्रममा बलिदान दिनेहरुलाई बिर्सिन नपरोस् भनेर चित्रहरु बनाउन सुरु गरेको बताउँछन् । उनी आफैं पनि ब्रिटिस आर्मी हुन् । उनले त्यहाँ ६ वर्षसम्म फोटोग्राफरको काम गरे । त्यसपछि प्रोट्रेटतिर लागेको उनले सुनाए । ‘मेरो साथीलाई युद्धकै क्रममा गुमाउनु परेपछि उनको सम्झनामा मैले प्रोट्रेट तयार गरे । त्यसपछि अर्को परिवार पनि मसँग यहीका काममा जोडिन आउनुभयो,’ उनले भने, ‘पछि एक जना भेट्रान्स प्रोट्रेट बनाउन आएपछि यो योजनाको थालनी भयो ।’
चित्रहरु परिवारका सदस्यसहित संग्रहालयलाई हस्तान्तरण गर्न पाउनु ठूलो सम्मानको विषय भएको उनले बताए । ‘मैले बनाएको प्रोट्रेट परिवारलाई देखाउँदा उहाँहरुले इमोसनल खालका प्रतिक्रिया दिनुभयो,’ उनले भने, ‘उहाँहरुलाई देखेर म पनि इमोसनल भएँ ।’ एउटा फ्रेममा राखेको फोटाले विगत सम्झाउन कति मद्दत गर्छ भन्ने गतिलो उदाहरण देखेको उनको प्रतिक्रिया थियो ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया