७ स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान

समाधान संवाददाता २०८२ असार १ गते ११:२१

पोखरा ।
भारतीय राजदुतावास काठमाडौंले गण्डकी प्रदेशका ७ सरकारी अस्पताल तथा स्वास्थ्य चौकीलाई शनिबार एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुतावास भारतीय पेन्सन क्याम्प पोखरामा आयोजना गरेको कार्यक्रममा पेन्सन वितरण कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बगेलले स्वास्थ्य संस्थाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।


नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिएको हो । समारोहमा अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक औषधीसमेत सहयोग गरिएको छ । पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरतभूषण पाण्डेका अनुसार तनहँुको मनपाङ स्वास्थ्य चौकी म्याग्दे, आँबुखैरेनी अस्पताल, गोरखाको जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नम्बर ६, आर्थर डाँडाखर्क स्वास्थ्य चौकी कुश्मा १४ पर्वत, गल्याङ नगर अस्पताल स्याङजा र बेनी अस्पताल म्याग्दीलाई एम्बुलेन्स वितरण गरिएको छ ।


कार्यालय प्रमुख बगेलले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र भारत सरकारको सहयोगको पहिलो प्राथमिकतामा पर्ने बताए । नेपाल र भारत बिचको मित्रताको प्रतीक स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिँदै उनले एम्बुलेन्सले ग्रामीण र दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा पहँुच पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement


‘दुई देशको सम्बन्ध छिमेकीमात्र नभएर सांस्कृतिक पारिवारिक नातासँग जोडिएको छ,’ उनले भने, ‘खुला सीमाना र साझा संस्कृति भएका दुई देश बिचको असल मित्रताको प्रतीकको रुपमा एम्बुलेन्स प्रदान गरिएको हो ।’ उनले आवश्यकताको आधारमा थप एम्बुलेन्ससमेत प्रदान गर्ने बताए । उनले भारतले शिक्षा स्वास्थ्य, पूर्वाधार निर्माण र आपतकालीन क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको जानकारी दिए ।


भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको संख्याको आधारमा एम्बुलेन्स प्रदान गरेको उल्लेख गर्दै उनले पहिलो उत्तरदायित्व सैनिकको परिवार भएत ापनि सबै प्रदेशबासीको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको बताए ।

Advertisement


भारतीय राजदुतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थालाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको उनले उल्लेख गरे । स्वास्थ्य सेवामा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको कर्णेल बगेलले सुनाए । उनले आम बिरामीलाई स्वास्थ्य सेवामा प्रदान गर्नुका अलवा एम्बुलेन्स संरक्षण, नियमित मर्मतमा ध्यान दिएर लामो समयसम्म सेवा दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया