ट्राफिक सप्ताहमा ३४१२ कार्यक्रम

समाधान संवाददाता २०८२ असार १ गते ११:४४

पोखरा ।
गण्डकी प्रदेशमा जेठ २५ गतेदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शनिबार सकिएको छ । साताभरी विभिन्न सचेतनाका कार्यक्रम भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।


‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ११ वटै जिल्लामा भएकोसप्ताहमा लाखौंको सहभागिता भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । सप्ताहमा सवारीको मेकानिकल चेकिङ, चालक, सहचालकको स्वास्थ्य चेकाजाँच, लघु सचेतना, ट्राफिक नियमका कक्षा, सवारीमा आरक्षण सिट रहे/नरहेको अनुगमन गरिएको छ ।


तीव्र गति र ओभरटेक चेकिङ, भाडादर अनुगमन, ग्रामीण सडक लक्षित चेकिङ, ट्राफिक नियमसम्बन्धी माइकिङ, हेल्मेट र सिटबेल्ट चेकिङ, चेतनामूलक पर्चा वितरण र रक्तदान लगायतका गतिविधि भएका छन् । ११ जिल्लामा भएका ३ हजार ४ सय १२ कार्यक्रममा २ लाख २२ हजार ३१२ जनाको सहभागितामा ट्राफिक सचेतना सप्ताह सकिएको हो ।

Advertisement


कार्यक्रममा थापाले ट्राफिक सचेतना सप्ताह मनाएकै अवधिमा गण्डकी प्रदेशभर ८ सवारी दुर्घटना भएको र त्यसमा परेर ५ जनाको ज्यान गुमेको जानकारी दिए । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनले पैदलयात्रु, साइकल यात्री, दुईपांग्रे सवारी साधनमा यात्रा गर्नेहरु बढी जोखिममा रहने हुँदा अझ बढी सचेत हुुनुपर्नेमा जोड दिए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख शोभा पाण्डेयले सबै पक्षको सहभागिताले ट्राफिक सप्ताह सफल भएको बताइन् । ट्राफिक सचेतना सप्ताह गएको आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया