देवीरमण जन्मजयन्तीमा बाँस्तोला र श्रेष्ठ सम्मानित

पोखरा ।
देवीरमण–कृष्णकुमारी स्मृति प्रतिष्ठान, कास्कीको आयोजनामा आइतबार १११ औं देवीरमण जन्मजयन्ती तथा सम्मान कार्यक्रम पोखरामा भएको छ ।
कार्यक्रममा पोखरा–९ नयाँबजारकी सामाजिक अभियन्ता राधादेवी बाँस्तोलालाई कृष्णकुमारी स्मृति महिला सेवा सम्मान र पोखरा–२५ हेम्जाका शिक्षासेवी चतुरमान श्रेष्ठलाई देवीरमण स्मृति शैक्षिक सम्मान प्रदान गरियो।
बाँस्तोलाले पाँच दशकभन्दा बढी समय कास्की जिल्लामा एक हजारभन्दा बढी महिलालाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुका साथै कुष्ठरोग र क्षयरोग प्रभावितलाई सिप तालिममार्फत पुनःस्थापना र आत्मनिर्भरता दिलाउन उल्लेखनीय योगदान दिएकी छन्।
श्रेष्ठले वि.सं. २०१५ देखि २०५४ सम्म हेम्जास्थित गौरीशंकर माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर विद्यालयको भौतिक र शैक्षिक विकासमा लामो योगदान दिएका छन्।
दुवैलाई सम्मानपत्र, दोसल्ला, माला र नगद २० हजार रुपैयाँको चेक प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले देवीरमणको शिक्षा र समाज सेवामा रहेको योगदान अमूल्य भएको बताए। उनले बाँस्तोला र श्रेष्ठजस्ता प्रेरक व्यक्तित्वको सम्मानले भावी पुस्तामा सेवा र कर्तव्यप्रति प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
सम्मानित व्यक्तित्व बाँस्तोला र श्रेष्ठले देवीरमणसँगको संस्मरण सुनाउँदै यो सम्मानले आफूलाई अझ सक्रिय र जिम्मेवार बन्ने प्रेरणा दिएको प्रतिक्रिया दिए।
कार्यक्रममा सुवेदी कल्याण प्रतिष्ठानका सल्लाहकार चक्रपाणि सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, वरिष्ठ शिक्षासेवी जर्ज जोनले पनि शुभकामना मन्तव्य दिए।
छनोट समितिका संयोजक प्राडा कृष्ण केसीले देवीरमण र कृष्णकुमारी शर्माको संक्षिप्त जीवनीसहित सम्मान कार्यक्रमको पृष्ठभूमि र छनोट प्रक्रिया प्रस्ट पारे। समितिमा विश्लेषक विश्व सिग्देल, प्राडा. कृष्णप्रसाद पौडेल, प्राडा ज्ञानबहादुर कार्की, सह–प्रा. ज्योति भट्टचन, समाजसेवी टिका कार्की र पदेन सदस्यको सहभागिता थियो।
कार्यक्रमको अध्यक्षता डा. अनिल सुवेदीले गरे। सञ्चालक पत्रकार दीपेन्द्र श्रेष्ठ र स्वागत मन्तव्य स्मृति प्रतिष्ठानका सचिव पशुपति सुवेदीले राखे।
सुवेदी कुलका गौरव देवीरमण शर्मा ‘शास्त्री’
कास्कीको कास्कीकोट, रोहोटेपानीमा जन्मिएका देवीरमण शर्मा सुवेदी ‘शास्त्री’ पोखरा र पश्चिम नेपालको शैक्षिक, सामाजिक र धार्मिक चेतनामा अमिट छाप छोड्न सफल प्रेरणादायी व्यक्तित्व थिए। सादा जीवन, उच्च विचार र कठोर अनुशासनमा आधारित जीवनशैलीले उनी सुवेदी वंशका सम्मानित व्यक्तिका रूपमा चिनिए।
बाल्यकाल धर्मशालाको भाग्सुमा बिताउँदै चाँदमारी नजिकको विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले संस्कृत अध्ययन नगरोटा गुरुकुलमा गरे। उच्च शिक्षा जम्मूस्थित रघुनाथ संस्कृत कलेजबाट ‘मध्यमा’ र ‘शास्त्री’ उपाधि पूरा गरे। सुवेदी वंशमा शास्त्री उपाधि लिने उनी पहिलो व्यक्ति थिए।
शैक्षिक जीवनको सुरुवात धर्मशालास्थित गोर्खा राइफल्स पल्टनमा गरे। गोर्खाली र ब्रिटिश सेनाका अधिकारीलाई नेपाली र अङ्ग्रेजी पढाउने जिम्मेवारीले उनको शिक्षण क्षमता पहिल्यै देखिएको थियो।
वि.सं. २००९ मा पोखरा फर्किएपछि शिक्षा क्षेत्रमा समर्पित भए। वि.सं. २०१७ मा पृथ्वीनारायण कलेज स्थापनामा सक्रिय भूमिका निभाउँदै सो कलेजमा नेपाली विषयका पहिलो प्राध्यापक बने। कडाइ, अनुशासन र प्रभावशाली शिक्षणशैलीका कारण विद्यार्थीमाझ ‘देवीरमणसँग ट्यूसन पढेपछि एसएलसी पास हुन्छ’ भन्ने विश्वास स्थापित भयो।
अमरसिंह हाई स्कूल, मौजा रात्रि विद्यालय, विन्ध्येश्वरी रात्रि विद्यालयजस्ता शिक्षालयमा उनले शिक्षण तथा नेतृत्व भूमिका निभाए।
धर्म, संस्कृति र जलवायु मापनमा पनि उनको योगदान रह्यो। साधारण पदमा रहेर मातृभूमिको सेवा गर्न सकिन्छ भन्ने सन्देश दिने जीवनशैलीले उनी साँचो अर्थमा समाजसेवी बने।
उनको जीवन र योगदान सुपुत्र डा. अनिल सुवेदीद्वारा प्रकाशित ‘देवीरमण शर्मा ‘शास्त्री’ स्मृतिग्रन्थ’ मा विस्तृत रूपमा समेटिएको छ।
देवीरमण शर्मा ‘शास्त्री’ सुवेदी वंश मात्र होइन, सिङ्गो पश्चिम नेपाल र राष्ट्रकै लागि एक प्रेरणादायी, स्मरणीय र गर्विलो व्यक्तित्वका रूपमा चिनिन्छन्।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया