लोकतारामा १८ जना छानिए

समाधान संवाददाता २०८२ असार ३ गते १२:१३

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’का लागि १८ जना छनोट भएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसनमार्फत उनीहरू छनोट भएका हुन् ।


छनोट हुनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा, स्याङ्जाबाट दिलीपकुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन विक र शोभा परियार, बागलुङबाट प्रेम विक र ललिता घर्ती, म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अञ्जना गुरुङ र कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मनबहादुर गुरुङ, रञ्जित र युगेश परियार, नवलपुरबाट यजिकल परियार र कोपिला गुरुङ छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानका शाखा छैनन् ।


विश्व संगीत दिवसका दिन असार ७ गते हुने अन्तिम प्रतिस्पर्धाका लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको अडिसनबाट छनोट भएका हुन् ।

Advertisement

प्रतिष्ठान गण्डकी प्रदेश समिति अध्यक्ष राजन कार्कीले नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेका प्रतिभालाई बाहिर ल्याएर अगाडि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम पहिलोपटक आयोजना गरिएको बताए । कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको उनले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुने प्रतिभाले ‘लोक तारा’ को उपाधिसहित नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ छ । प्रथम, द्वितीय र तृतीय हुनेले निःशुल्क एक अडियो रेकर्ड गर्ने अवसर पनि पाउनेछन् ।

Advertisement


प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष दुर्गा रायमाझी छन् । अन्य निर्णायकमा संगीतकार नवराज बराल, प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, लोकदोहोरी गायक पशुपति शर्मा र गायिका शान्ति गुरुङ छन् ।


सेमिफाइनल र फाइनल प्रतिस्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ । प्रतियोगीले ५ मिनेटको प्रस्तुति राखेपछि उत्कृष्ट १० छनोट गरिनेछ । उत्कृष्ट १० मा पुग्नेले आयोजकले उपलब्ध गराएका १९ गीतमध्ये एक गीत र आफ्नो इच्छा अनुसारको एक गीत गाउनुपर्ने छ ।


‘हाम्रो अभियान : लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले आयोजना गर्ने यो कार्यक्रमको १ महिनाअघिदेखि तीव्र गतिमा तयारी भइरहेको अध्यक्ष कार्कीले बताए ।

यो वर्ष अधिवेशनको वर्ष पनि भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम भएको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया