लेखनाथ हार्डवेयर एसोसिएसनको स्थापना दिवसमा सहयोग

समाधान संवाददाता २०८२ असार ३ गते १२:३७

लेखनाथ ।
लेखनाथ हार्डवेयर एसोसिएसनले आफ्नो ११औँ स्थापना दिवसको अवसरमा प्रादेशिक जनरल तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । हरेक वर्ष स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोग गर्दै आएको यस संस्थाले यो वर्ष फरक र भिन्न शैलीमा प्रादेशिक जनरल तथा सरुवारोग अस्पतालमा हेमोडायलसिस गरिरहेका ९३ जना बिरामीहरूका लागि औषधि र औषधिजन्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

Advertisement


न्यून आर्थिक अवस्था भएका बिरामीहरूले अस्पतालमा निःशुल्क डायलसिस गरे पनि औषधिजन्य वस्तुहरू किन्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै संस्थाले २५ हजार बराबरको सामग्री सहयोग गरेको हो ।


सहयोग सामग्री हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले मिर्गौलामा समस्या आउनुअघि नै होसियारीपूर्वक मिर्गौलालाई जोगाउन सकिने उपायहरूबारे समाजमा जानकारी गराउनुपर्नेमा जोड दिए । उनले पोखरामा मुटु र ब्रेन हेमरेजका बिरामीहरुको उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै प्रादेशिक जनरल तथा सरुवारोग अस्पताललाई जटिल प्रकृतिका रोगहरुको उपचार केन्द्रका रुपमा सेवा प्रदान गर्न राज्यलाई घचघच्याउनुपर्ने सुझाव राखे ।

Advertisement


कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र ओझा, संस्थाका वरिष्ठ सल्लाहकार भट्ट बहादुर केसी, प्रादेशिक जनरल तथा सरुवारोग अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सरोज पोखरेल र अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले स्थापना दिवसमा गरिने फजुल खर्चको सट्टा समाजमा उदाहरणीय काम गरेर देखाउनुपर्ने धारणा राखे ।


लेखनाथ हार्डवेयर एसोसिएसनका अध्यक्ष अर्जुन पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विजय न्यौपानेले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव शिवराज अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया