वालिङमा रास्वपा नेतामाथि वडाध्यक्षद्वारा रड प्रहार, वडाध्यक्ष भन्छन् : धकेलाधकेलमात्र हो

पोखरा ।
स्याङ्जाको वालिङमा आँधीखोला संरक्षणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि आक्रमण भएको छ ।
वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले उनीहरुमाथि रड प्रहार गरेका हुन् । अभियन्ता नेपालले आफू र अर्का अभियन्ता मेघ आलेमाथि वडाध्यक्ष खनालले फलामको रडले आक्रमण गरेको आरोप लगाएका छन् भने वडाध्यक्ष खनालले भने चरित्र हत्या र उत्तेजना फैलाएपछि सामान्य धकेलाधकेल मात्र भएको दाबी गरेका छन्।
आँधीखोला बचाउँ अभियान अन्तर्गत वालिङ नगरपालिका–९ स्थित दरबारचोकमा आयोजित विरोध कार्यक्रम सकेर फर्कने क्रममा आफूहरूमाथि आक्रमण भएको पीडित दिनकर नेपालले बताएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष सुनिल खनाल र अर्का एक व्यक्तिले बाटोमा रोकेर फलामको रडले प्रहार गरेको बताए। नेपालका अनुसार, आँधीखोलाको दोहनबारे सार्वजनिक रूपमा आवाज उठाएपछि कार्यक्रममै वडाध्यक्षले धम्की दिएका थिए। “फर्कंदै गर्दा बाटोमा रोकेर फलामको रडले हिर्काए। जनप्रतिनिधिबाटै ज्यानको जोखिम भयो,” नेपालले भने। उनले घटनाबारे प्रहरीमा उजुरी दिएको जनाएका छन्।
यता, वडाध्यक्ष सुनिल खनालले भने दिनकर नेपालले घटनालाई अतिरञ्जित गरी सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्। खनालले फेसबुकमार्फत् नदीजन्य सामग्री उत्खनन सम्बन्धित निकायको स्वीकृति र तोकिएको शुल्क तिरेर नै गरिएको दाबी गरेका छन्। उनका अनुसार, नेपालको नेतृत्वमा आएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आफ्नो निजी स्काभेटर कब्जा गर्ने, ब्यानर राख्ने र नदी संरक्षणको नाममा आफूविरुद्ध हल्ला फैलाउने काम भएको थियो।
खनालले आफू त्यहाँबाट हटेर सुरकौदीस्थित आफ्नो होटलमा बसिरहेको बेला नेपालको टोली पुनः मोटरसाइकलमा आएर गालीगलौज गर्दै बदनाम गर्न खोजेको बताए। “तीव्र बहसको क्रममा जब उनीहरूले हद पार गरे, तब दुवै पक्षबाट सामान्य बल प्रयोग भयो,” खनालले भने, “यो घटना उनीहरूको चरित्र हत्या र उत्तेजनाको प्रत्यक्ष परिणाम हो।” उनले सामान्य बल प्रयोग हुनु अनुचित भए पनि परिस्थितिले त्यस्तो अवस्था सिर्जना गरेको बताएका छन्। दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया