उच्च अदालत बागलुङ इजालसको भवन सम्पन्न

समाधान संवाददाता २०८२ असार ४ गते १६:०४

गलकोट ।

Advertisement

उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन सम्झौताअवधि अगावै निर्माण सम्पन्न भएको छ ।

भूकम्पले क्षति पर्याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मितिभित्र सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको हो ।

Advertisement

भवन गण्डकी प्रदेशको नमूना र ठूलो लागतमध्ये पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । भूकम्पले भत्काएको नौ वर्षपछि भवन निर्माण भएर हस्तान्तरणको प्रक्रियामा गएको छ ।

विभिन्न पूर्वाधार निर्माण समयमा सम्पन्न नभएका थुप्रै उदाहरणका बीच ३० महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तलाको भवन सम्पन्न भएको छ । आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसंगै अन्य तीन वटा न्यायाधिश आवास गृह निर्माण गरिएको हो ।

Advertisement

उच्च अदालत पोखराअन्तर्गत बागलुङ अदालतको भवन २०७२ सालको भूकम्पले क्षति भएपछि विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो ।

दुई वटा विद्युतीय भर्‍यायाङसहित नमूना भवन निर्माण सम्पन्न भएर सेवा दिने अवस्थामा पुगेको बागलुङ इजालसका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिए । यही असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माण सम्पन्न भएको उनले बताए ।

हस्तान्तरणपछि उच्च अलदातलको नयाँ भवनबाट ३० महिनापछि सेवा थालिने थापाको भनाइ छ । अदालतको अहिले जिल्ला अदालत बागलुङको भवनबाट सेवा प्रदान हुँदै आइएको छ । श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिनरात गरी दुई चरणमा काम गरेसँगै सम्झौता मितिभित्रै निर्माण सम्पन्न भएको जनाएको छ ।

“कार्यप्रगति निकै सन्तोषजनक छ, समयमा भुक्तानी दिएको भए जेठमा सेवा दिने तयारी थियो, केही ढिलो भए पनि अहिले भवन निर्माण सकिएको छ, हस्तान्तरणपछि गर्ने सानातिना कामहरु भने बाँकी छन्”, थापाले भने, “निर्माण कम्पनीले ठेक्का सम्झौता अनुरुप काम गर्दा अदालतको सेवा दिन सहज हुनेछ ।”

भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गरिनुका साथै दुई चरणमा काम भएकाले समयसिमा भवन सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण व्यवसायीका प्रतिनिधि महेन्द्र पौडेलका अनुसार काम सकेर हस्तान्तरणको प्रक्रियामा पुगेको बताउँदै केही मर्मतसंभारको काम भइरहेको छ ।

उनले भवन ठूलो भएकाले काम गर्दा छुटेका केही संरचना र बिग्रेका काम मर्मत भइरहेको जनाए । “मुख्य भवन वैशाखमा सकिएको थियो, आवास गृहसहित रङ्गरोगन र अन्य काम जेठमै सकिएको हो”, उनले भने । उनका अनुसार भवनमा पारदर्शी विद्युतीय भर्‍याङ जडान भइसकेको छ ।

नायाँ भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहने छन् । जसकारण एकसाथ छ मुद्दाको इजलास गर्न सकिने रजिष्ट्रार थापाले जानकारी दिए । उनका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीश, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवासका संरचना तीन ब्लकमा निर्माण गरिएको छ ।

सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साविक धौलागिरि अञ्चलका चार जिल्लामा रहेका इजलासमध्ये सबैभन्दा ठूलो र आधुनिक रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया