पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी ।
ढुंगा र जस्ताले छाएका गुजुमुज्ज घरहरु, ढुंगाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।
जिल्लाकै ठूलो र सिरान गाउँको रुपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताए ।
उनले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताए । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।
पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।
यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ ।
गाउँका प्राचीन गुुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुरुङले बताए । सन्तान प्राप्त नभएका दम्पत्तिले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।
यहाँ पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आयआर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।
भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए । “कास्की, लमजुङलगायत यहाँका विभिन्न गुरुङ गाउँबाट सुरु गरी दूधपोखरी, गुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नून बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्ने मार्गलाई हामीले गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेका छौँ”, उनले भने, “यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।”
सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।
जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया