दैनिक ३० हजार लिटर मोही बिक्री

समाधान संवाददाता २०८२ असार ५ गते १७:०२
फाइल तस्बिर

पोखरा ।
कुनै समय दुग्ध उद्योगमा उपयोगबिहीन ठानिने मोही पछिल्ला वर्षहरुमा लेबलिङ, प्याकेजिङ र ब्राण्डिङमार्फत बजारमा सक्रिय रुपमा प्रवेश गरेको छ । नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालका अनुसार देशभर दैनिक ३० हजार लिटर मोहीको खपत हुन्छ ।

नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थको उपभोग वृद्धि गर्ने उद्देश्यले मोहीमा ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको अभियान सञ्चालन उनले बताए ।

नेपालका ३६ वटा दुग्ध उद्योगले ब्रान्डिङ र प्याकेजिङसहित मोही उत्पादन तथा बिक्री गरिरहेकाे दाहालले जानकारी दिए । यसबाट करिब १५ हजार लिटर दूधको अतिरिक्त खपत भएकाे छ ।

Advertisement

दाहालका अनुसार, परम्परागत मौलिक पेयका रुपमा परिचित मोही विभिन्न सभा–समारोहमा कोक, फेन्टा लगायतका चिसो पेय पदार्थको विकल्प लिन थालेको छ ।

पहिले अनौपचारिक रुपमा खुल्ला बिक्री हुने मोही, दही, घ्यू, पनिर र चिज लगायतका दुग्धजन्य पदार्थलाई औपचारिक बजारमा ल्याउने उद्देश्यले पोखरामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन ललितपुरको आयोजनामा भएको हो । कार्यक्रममा पोखराका दुग्ध उत्पादक कृषक र व्यवसायीहरुको उपस्थिति थियो ।

Advertisement

नेपाल डेरी एशोसिएसनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष एवं एसएनएस डेरी उद्योगका सञ्चालक शिवहरी आचार्यले गण्डकी प्रदेशमा अझै पनि अनौपचारिक रुपमा दूधको कारोबार बढी हुने बताएका छन् । माेही उत्पादकलाई करको दायरामा ल्याई औपचारिक प्रणालीमा समेट्न सके उपभोक्ता हित सुनिश्चित हुनुका साथै आर्थिक गणनामा समेत सहजता आउने आचार्यले बताए ।

गण्डकी प्रदेश दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनिसकेको छ । यहाँ दैनिक करिब २ लाख ५० हजार लिटर दूधको खपत हुने गरेकोमा मात्र ६५ हजार लिटर दूध औपचारिक प्रणालीमार्फत बिक्री वितरण हुने गरेको छ । बाँकी दूध तथा दुग्धजन्य वस्तुहरु अझै पनि लेबलिङ र प्याकेजिङबिना खुल्ला रुपमा अनौपचारिक बजारमा प्रवाह भइरहेको नेपाल डेरी एशोसिएसनको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया