
जोमसोम ।
मुस्ताङमा जलवायु परिवर्तनको प्रभाव र यसले पुर्याएको असर न्यूनीकरण गर्दै जलवायु संकटको चुनौतीलाई सामूहिक रूपमा अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको आयोजना तथा जलवायु उत्थानशील आयोजनाको समन्वयमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो ।
मुस्ताङको घरपझोङ–५ ठिनी थकाली सामुदायिक होमस्टेमा आयोजित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी), पत्रकार, स्थानीय युवा सम्मिलित ‘विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिश्रणः स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरण’ विषयक चारदिने प्रशिक्षक प्रशिक्षण तालिम (टीओटी) कार्यक्रममा मुस्ताङका सरोकारवाला कार्यालयहरूले जलवायु परिवर्तनको संकट समाधानका लागि जलवायु अनुकूलनका विकल्प अपनाउनुपर्नेमा जोड दिएका छन् ।
जलवायु परिवर्तन अनुकूलन र पारिस्थितिक प्रणाली व्यवस्थापनमा स्थानीय स्तरमा सहजीकरण गर्ने उद्देश्यले एक्यापले सीएमसी, पत्रकार र स्थानीय युवाहरुलाई यस्तो प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो । तालिमका प्रशिक्षार्थीहरूलाई विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको कृषि, पशुपालन, जैविक विविधता, आर्थिक प्रणाली, समुदाय र परम्परागत धर्म–संस्कृतिमाथि प्रत्यक्ष/परोक्ष असर पुर्याएको बताइएको छ ।
तालिमका सहजकर्ता शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जलवायु परिवर्तनको चुनौती विश्व समुदायले सृजना गरेको वातावरणीय चुनौती भएको बताए । जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहेको, असमान प्रकारको हिमपात र बेमौसमी वर्षा हुन थालेका कारण परम्परागत कृषि प्रणालीमा असर पु¥याउन थालेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।
‘जलवायु संकट विश्वव्यापी समस्या र चुनौतीका रूपमा देखिन थालेको छ । यो मानवले सृजना गरेको कार्बन उत्सर्जनका क्रियाकलाप नै हुन्,’ कार्यालय प्रमुख आत्रेयले भने, ‘जलवायु संकटको चुनौतीलाई अवसरको रूपमा पनि लिन सकिन्छ । जलवायुले वातावरणीय क्षेत्रमा पारेको मूल्यांकन गर्दै त्यसको विकल्पका रूपमा वैज्ञानिक र अन्य कृषि प्रणालीलाई आत्मसात् गरी अघि बढ्न सकिने नयाँ खालको अवसर पनि हो ।’
विकल्पका रुपमा वैज्ञानिक र अन्य कृषि प्रणालीलाई आत्मसात् गरी अघि बढ्न सकिने
कार्यालय प्रमुख आत्रेयले मुस्ताङमा परम्परागत स्याउ खेती बिस्तारै उकालो बसाइ सर्दै गएको उल्लेख गर्नुभयो । जलवायु संकट समाधानका लागि परम्परागत खेतीको विकल्पमा नयाँ प्रजातिको उस्तै खालको खेती गर्न सकिने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । फलफूल, तरकारी र खाद्यान्न बालीहरूलाई हावापानी र तापक्रम सुहाउँदो हुने गरी जलवायु अनुकूलन अपनाउनुपर्ने सन्देश स्थानीय स्तरसम्म पुर्याउनुपर्ने बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. लालमणि अर्यालले जलवायु संकटका कारण हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्दै गएको बताए । बढ्दो कार्बन उत्पादनले हिमाली क्षेत्रका उच्चलेक, खर्क र पाटनहरूमा पानीको स्रोत सुक्दै गएको, हिमालहरू कालापत्थरमा परिणत हुँदै गएको, खर्क र पाटनमा पानीको स्रोत नहुँदा चरिचरण खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
‘यहाँको पशुपालन व्यवसाय संकटमा छ । त्यस्ता परम्परागत पशुपालनको विकल्पमा नयाँ के हुन सक्छन् भन्ने अनुकूलन आवश्यक छ,’ डा. अर्यालले भने, ‘तापक्रम वृद्धिसँगै पशुपालनमा विभिन्न रोगहरू देखा पर्न थालेका छन् । हामीले यसको नियन्त्रणमा अहोरात्र जुटेकाले त्यस्तो भयावह अवस्था सृजना हुन पाएको छैन ।’
गण्डकी जलाधार उत्थानशील आयोजनका क्षमता विकास अधिकृत सुनिल सापकोटाले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणका साथै जलवायु संकटले सृजित समस्या र चुनौतीहरूसँग जुध्दै अघि बढ्न जलवायु डाटा संकलन महत्वपूर्ण भएको बताए । वातावरणीय क्षेत्रको जोखिम र संकटासन्न क्षेत्रको लेखाजोखा गरेर सबै क्षेत्रमा अनुकूलनका विकल्प अपनाउनुपर्नेमा जोड दिए ।
यसैगरी, एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जलवायु परिवर्तनले मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको बताए । मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनका लागि सुरक्षित पूर्वाधार निर्माण र समुदायलाई लक्षित कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । एक्यापकै अर्का संरक्षण सहायक सञ्जोग थकालीले अनधिकृत फोहोरले वातावरणीय क्षेत्रमा असर पुर्याएको बताए । फोहोर व्यवस्थापन नहुँदा जलवायु संकटको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । संरक्षण सहायक थकालीले मानवद्वारा सृजित फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सकेमा कार्बन उत्सर्जन न्यूनीकरण गर्न सकिने बताए ।
जलवायु प्रशिक्षार्थीहरुलाई मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष लालचनले जलवायु परिवर्तनका कारण मुस्ताङमा पछिल्लो तीन वर्षदेखि हिउँ पर्न नसकेको जानकारी दिए । ‘जलवायु संकट हाम्रो अपराध होइन । हामीले अरूले गरेको अपराधको सजाय भोगिरहेका छौँ,’ अध्यक्ष लालचनले भने, ‘वातावरण प्रदूषण न्यूनीकरण गर्न हामीले आफ्नो तहबाट विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका छौँ ।’
कार्यक्रम समापनमा एक्याप प्रमुख राजेश गुप्ताले जलवायु परिवर्तन न्यूनीकरण, पर्यटन प्रवद्र्धन, रैथाने बाली संरक्षण, आर्थिक तथा सामाजिक प्रणाली, जैविक विविधता संरक्षणलगायतमा एक्यापले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा विभिन्न चार सहयोगी निकाय र ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) को आर्थिक सहयोगमा मुस्ताङको ठिनीमा जलवायुसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया