शिक्षा र साहित्यका साधक डा. टुबराजको निधन

समाधान संवाददाता २०८२ असार ८ गते १९:४३

पोखरा । पोखराका प्रतिष्ठित शिक्षासेवी, संस्कृत साहित्यका विद्वान् तथा समाजसेवी डा. टुबराज बास्तोलाको निधन भएको छ । ८२ वर्षीय बास्तोलाको आइतबार मध्याह्न १२ः५५ बजे पोखरा–११, फूलबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।
सम्पूर्णानन्द विश्वविद्यालय, बनारसबाट संस्कृत साहित्यमा आचार्य र विद्यावारिधि गरेका डा. बास्तोलाले आफ्नो जीवनको लामो समय शिक्षा क्षेत्रमा समर्पित गरेका थिए । उनी बाराही माध्यमिक विद्यालयमा विसं. २०२५ देखि २०५५ सम्म ३० वर्ष निरन्तर अध्यापन गरी सेवा निवृत्त भएका हुन् ।

Advertisement

सेवानिवृत्त जीवनमा समेत उनी निरन्तर सामाजिक, शैक्षिक, धार्मिक र साहित्यिक गतिविधिमा सक्रिय हथिए । उनी शिवशक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णाेद्धार समितिका संयोजक जस्ता महत्वपूर्ण भूमिकामा रहेका थिए । उनले शिवशक्ति माविमा ‘टुवराज बास्तोला प्रतिभा पुरस्कार’ कोषसमेत स्थापना गरेका थिए ।

शिक्षा र साहित्यमा पु¥याएको अतुलनीय योगदानको कदरस्वरूप उनलाई नेपाल सरकारले ‘महेन्द्र विद्याभूषण’ पदकबाट विभूषित गरेको थियो । यसका साथै उनी बाराही मावि, शिवशक्ति क्याम्पस, लेखनाथ साहित्य प्रतिष्ठान, विन्दुवासिनी संस्कृत विद्यापीठलगायत दर्जनौं संघसंस्थाबाट सम्मानित भएका थिए ।

Advertisement

विसं २००० साउन २० गते जन्मेका बास्तोलाका पत्नी मुगादेवी, छोरा रमेश, छोरीहरू प्रभा पौडेल र कमला पराजुली तथा नातिनातिनाहरू छन् । पारिवारिक स्रोतका अनुसार, उनको पार्थिव शरीरको शवयात्रा सोमबार बिहान १० बजे फूलबारीस्थित निवासबाट सुरु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया