प्रतिभा फुटसलको उपाधि स्टेप वाइ स्टेपलाई

समाधान संवाददाता २०८२ असार ८ गते २०:११

पोखरा ।

पोखरा ३ नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि
स्टेप वाइ स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ ।
स्टेप वाइ स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाइब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।

‘क्रिएटिभीटी एन्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीले बताए । प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका थिए ।
एसइई परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जोशीले बताए । उपाधि विजेता र उपविजेता सहितको टोलीलाई फुटसलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ, विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक जोशी सहितका अतिथिले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
फुटसलका राष्ट्रिय खेलाडी श्रेष्ठले खेलकुदमा रहेको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । ‘फुटसलका यस्ता प्रतियोगिता नयाँ खेलाडी पहिचान गर्ने अवसर हो । बेलैमा उनीहरुको क्षमता पहिचान गर्न सकियो भने त्यसले भविश्यमा अब्बल खेलाडी उत्पादन गर्न सघाउँछ,’ उनले भने, ‘नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि यस्ता गतिविधि हुन जरुरी छ ।’

Advertisement

विद्यालयका प्राचार्य किरण सापकोटाले फुटसल प्रतियोगिताले युवा पुस्तामा खेलको मोह बढाएको बताए । ‘खेलकुदमै भविश्य खोज्नेका लागि यस्ता गतिविधि अवसर पनि हुन सक्छन्, खेलाडी पहिचान गर्ने मौका पनि यस्तै प्रतियोगिताले दिलाउँछ,’ उनले भने, ‘फुटसले नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि योगदान दिएको छ ।’ कतिपय खेलाडीमा खेलकौशल भए पनि अवसर नपाउँदा उनीहरुको प्रतिभा लुक्ने गरेको उनले बताए ।

विद्यालयले ‘क्रिएटिभिटी एन्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत गत असार १ देखि विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिका प्रतियोगिता सञ्चालन गरिरहेको थियो । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि सञ्चालन भएका थिए । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सकिएका छन् ।

Advertisement

शनिबार वक्तृत्वकला र विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । सापकोटाका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरी २ लाख ५० हजार बराबरको पुरस्कार दिइएको छ ।

तपाईको प्रतिक्रिया