गण्डकीको सदनमा सांसदको प्रश्न
तपाईं उद्योग मन्त्री कि मन्दिर मन्त्री ?

पोखरा ।
गण्डकी प्रदेशसभामा उद्योग मन्त्री मित्रलाल बस्यालमाथि मन्दिर निर्माणमा बजेट खन्याएको भन्दै आलोचना भएको छ । बजेटमाथिको छलफलका क्रममा आइतबार सांसदहरुले मन्त्री बस्यालको निर्वाचन क्षेत्रमा मात्रै ६० मन्दिर निर्माणका लागि बजेट परेको भन्दै कटाक्ष गरे ।
मन्त्रालयगत विनियोजन विधेयकमाथि छलफलका क्रममा आइतबार वन तथा वातावरण, उद्योग तथा पर्यटन, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेटमाथि छलफल भएको छ । छलफलमा सहभागी सांसद विकल शेरचनले उद्योग मन्त्रालयमा ३६ प्रतिशत अर्थात् २१ करोड १५ लाख रुपैयाँ मन्दिर निर्माणमा मात्र विनियोजन भएको भन्दै आपत्ति जनाए ।
‘३ सय २१ मन्दिर बनाउने भनिएको छ, तीमध्ये मन्त्रीज्यूकै निर्वाचन क्षेत्रमा ६० वटा छन् । तर बौद्ध र हिन्दू धर्मालम्बीको आस्थाका केन्द्र मुक्तिनाथ–दामोदर कुण्डमा बजेट छैन,’ उनले भने, ‘म भन्न चाहन्छु, तपाईं उद्योग मन्त्री हो कि मन्दिर मन्त्री ?’
अर्का सांसद भक्तबहादुर कुँवरले पनि बजेटमा छल भएको टिप्पणी गरे । ‘म मन्दिर विरोधी होइन, तर यति धेरै मन्दिर निर्माणमा बजेट छुट्याउनु भन्दा अरु आवश्यक क्षेत्रमा लगानी गर्न पाइएको भए राम्रो हुने थियो,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा कति बजेट पर्यो भन्ने भन्दा पनि समग्र गण्डकी प्रदेशको विकास महत्वपूर्ण हो ।’ सांसद पार्वती तामाङले पर्यटन र उद्योग मन्त्रालयले वौद्ध धर्मलाई बेवास्ता गरेको भन्दै मन्त्रीको आलोचना गरिन् । ‘मठ, मन्दिरमा त बजेट छ, तर वौद्ध धर्मतर्फ एक पैसा छैन । किन होला?,’ उनको प्रश्न छ ।
३२१ मन्दिर बनाउने भनिएको छ, मन्त्रीज्यूकै क्षेत्रमा ६० वटा छन् । तपाईं उद्योग मन्त्री हो कि मन्दिर मन्त्री ?
बजेट पुस्तिकाबिनै छलफल
प्रदेशसभामा आइतबार सुरु भएको मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल बजेट पुस्तिकाविनै अघि बढाइएको छ । सांसदहरूले मन्त्रालयहरूबाट समयमै बजेट विवरण नआएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रदेशसभामा अर्थमन्त्री डा टकराज गुरुङले पेश गरेको विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु भएको हो ।
वन तथा वातावरण, उद्योग तथा पर्यटन, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेटमाथि छलफल भए पनि बजेट पुस्तिका उपलब्ध नहुँदा सांसदहरू आक्रोशित बने । भीमबहादुर कार्कीले मन्त्रालयगत बजेट विवरण समयमै नआएकाले छलफल प्रभावकारी नसक्ने बताए । ‘मन्त्रालयगत बजेट आइपुगेको छैन । वन मन्त्रालयले मात्रै भर्खर दिनुभयो, अरु दुई मन्त्रालयले अझै बजेट पुस्तिका दिन सक्नुभएको छैन,’ उनले भने, ‘यही ढिलासुस्तीका कारण हामीपछि परेका छौं, अनि कसरी हुन्छ बजेट छलफल ?’
सांसद विन्दु पौडेलले कृषि, भूमि मन्त्रालयको बजेट विवरण नपाएको भन्दै व्यंग्य गरिन्, ‘किताब तपाईंहरूसँग होला, तपाईंहरूले नै हेर्नुहोला ।’ सांसदहरूले विकास योजनामा असमानता, बजेट विनियोजनको औचित्य, कार्यान्वयनको कमजोरी र कर्मचारीप्रति असन्तोष पोखे ।
शेरचनले मुस्ताङका सम्पूर्ण वन क्षेत्र अन्नपूर्ण संरक्षण परियोजनामा गाभिन लागेको भन्दै वन कार्यालयको औचित्यमाथि प्रश्न उठाए । ‘वन कार्यालयको भूमिका नभएको हुँदा त्यसलाई खारेज गरी भू तथा जलाधार कार्यालय खोल्न सुझाव छ,’ उनले भने । शेरचनले लुलु गाई संरक्षण कार्यक्रम र पस्मिना उत्पादनको प्रोत्साहनलाई सकारात्मक भएको जनाए ।
विन्दु पौडेलले लोकाहा औद्योगिक क्षेत्रको विकासमा ध्यान पु¥याउन आग्रह गरिन् । सांसद नन्दकला नेपालीले जमिन बाँझो राख्नेहरूलाई जरिवाना गर्न र खेती गर्ने किसानलाई सहुलियत दिनुपर्नेमा जोड दिइन् । देवका पहारीले सरकारले राम्ररी बजेट बनाएको भए पनि कार्यान्वयन पक्षमा ध्यान दिन सुझाव दिइन् ।
भक्तबहादुर कुँवरले गुणस्तर, सुशासन, प्रविधि र आधुनिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिए पनि बजेट पर्याप्त नभएको बताए । ‘एकातिर बाढी, अर्कातिर सुख्खा, सन्तुलित विकास भन्नाले यस्तै असमानता त होइन ?,’ उनले भने ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया