मनाङमा रैथाने बाली हराउँदै

समाधान संवाददाता २०८२ असार ९ गते १८:२५

मनाङ ।
समुद्री सतहबाट १ हजार ८ सय ८० मिटरदेखि ८ हजार १ सय ६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको २ हजार २ सय ४६ वर्ग किलोमिटर भूभाग समेटिएको छ भने २ लाख २४ हजार ६ सय हेक्टरमध्ये खेतीयोग्य जमिन २ हजार १ सय ५६ हेक्टर छ ।


खेतीयोग्य भूमिको २ हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । त्यसमा १ हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्र प्राकृतिक रूपमा खेती गरिन्छ । रैथाने बाली भन्नाले स्थानीय जातका परम्परागत रूपमा गरिँदै आएका अन्न बालीलाई बुझिन्छ ।


जौ स्थानीय हावापानी र माटो सुहाउँदो हुन्छ । मनाङमा रैथाने बालीका रूपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । विगतदेखि नै यिनै रैथाने बालीमा नै आत्मनिर्भर हिमाली जिल्ला मनाङ छ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा सामान्य अर्थात् नगण्य मात्रामा मात्र खेती गर्ने गरेको पाइन्छ ।

Advertisement

कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले रैथाने बाली हराउन थालेका स्थानीय बताउँछन् । यसलाई सुहाउँदो वातावरणमा अभावले पनि खेतीबाली फेरिन थालेका कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए ।

उनले भने, ‘रैथाने बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ कृषक लागेको पाइन्छ, तर रैथाने बालीको उत्पादकत्वको आधारमा किसान सचेत हुँदै आकर्षित भएका पाइन्छ ।’ विगत चार वर्षको तथ्यांक हेर्ने हो भने अन्य रैथाने बालीको तुलनामा स्थानीय आलुखेतीमा वृद्धि भएको पाइन्छ ।

Advertisement

जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै छ


विगतदेखि नै अन्य खेतीको तुलना आलुको बढी माग तथा खपत हुन थालेकाले व्यावसायिक खेती अर्थात् नगदे बालीका रूपमा विकास भएको पाइन्छ । तर, अन्य बाली लगाउन धेरै जनशक्ति लाग्ने र अभाव हुँदा समस्या भने हुने गरेको स्थानीय बताउँछन् । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।


मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोदो बोडी लगायतका बाली लगाइन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मूला, गाजर लगायतका तरकारी यहीँ खपत हुन्छ । जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ ।


आर्थिक वर्ष २०७७/७८ मा २ सय ८६ हेक्टरमा गरिएको फापर खेतीबाट ५ सय ४ टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । करिब १ सय ११ हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट १ सय ७५ मेट्रिकटन उत्पादन भएको छ । ७ सय ४५ हेक्टर क्षेत्रफलमा १४ हजार ९ सय ७५ टन स्थानीय प्रजातिको आलु उत्पादन भएको केन्द्र पमुख रेग्मीले बताए ।


आर्थिक वर्ष २०७८/७९ मा ७० हेक्टर क्षेत्रफलमा उवा÷करुखेती गरिएको तथ्यांकमा उल्लेख छ । त्यसअघि यी खेतीको तथ्यांक अभिलेखीकरण गरिएको पाइँदैन । करिब ७० हेक्टर जमिनमा गरिएको उवा/करुखेतीबाट १ सय १५ टन उत्पादन भएको छ । यस आर्थिक वर्षमा फापरखेतीको क्षेत्रफल ७५ हेक्टर वृद्धि भएको छ । ३ सय ६१ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट ६ सय १० टन फापर उत्पादन भएको छ । जौखेतीको क्षेत्रफल घटेर ४० हेक्टर पुगेको छ ।


यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७ सय ३५ हेक्टरमा झरेको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट ८ हजार १ सय ९० टन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ७० हेक्टरमा उवा/करुखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट १ सय १२ टन उवा÷करु उत्पादन भएको छ । ३ सय २ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३२० टन फापर उत्पादन भएको छ ।


४० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ६५ टन जौ उत्पादन भएको छ । ७ सय ३७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९ हजार २ सय १२ टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा १ सय ५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १ सय ९३ मेट्रिकटन उवा/करु उत्पादन भएको छ । करिब २१२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट २ सय १६ मेट्रिकटन फापर उत्पादन भएको छ ।


करिब २० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमार्फत ३७ टन जौ उत्पादन भएको छ भने ६ सय ३२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९ हजार १ सय ३२ मेट्रिकटन आलु उत्पादन भएको छ । यो तथ्यांकका आधारमा रैथाने बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको छ ।


रेग्मी भन्छन्, ‘रैथाने खेतीतर्फ कृषक आकर्षित छन्, उत्पादन यहीँ खपत हुन्छ, तर व्यवसाय परिवर्तनले प्रभाव पारेको छ ।’ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादन बढी लिने उद्देश्यले गर्दा लोप हुने अवस्थामा पुगेको छ ।


संरक्षण केन्द्रका अनुसार फापर, कोदो, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भॉगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचीकृत गरेको छ । मनाङ लगायत देशभरबाटै कतिपय रैथाने बाली लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख र संकटापन्न छन् ।

त्यसैले तीनै तहका सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा ध्यान दिँदै रैथाने बालीको वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त प्रजातिको विकास गरी उन्नत बीउबिजनबाट उत्पादनलाई जोड दिएको छ । रासस

तपाईको प्रतिक्रिया