कृषि मन्त्रालयको नेतृत्वमा बजार अनुगमन

पोखरा । गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न वडामा रहेको कृषि सहकारी संस्थाहरूमा रासायनिक मल तथा विषादी बिक्री अवस्था अनुगमन गरेको छ ।
मन्त्रालयको नेतृत्वमा प्रदेश रासायनिक मल नियन्त्रण समिति, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, मल तथा माटो परीक्षण प्रयोगशाला पोखरा, कृषि विकास शाखा पोखरा महानगरपालिका, कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त टोलीले सोमबार अनुगमन गरेको हो ।
अनुगमन टोलीले पोखरा महानगरपालिका वडा नं. ५, ७, १२, १३, १७ र २२ मा रहेका १३ वटा कृषि सहकारी संस्थाको अनुगमन गरेको हो । जसमा झौरीखेत, किसान जागरण, छिनेडाडा, छोरेपाटन, अग्रगामी, रामेश्वर, चिसापानी प्रगतिशील, पुम्दीभुम्दी, अमरसिंह, प्रभुधाम, चण्डेश्वरी र नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाहरू छन् ।
अनुगमनका क्रममा अधिकांश सहकारीहरूले मल बिक्री गर्दा ग्राहकलाई बिल नदिएको, मूल्यसूची टाँसेको नदेखिएको र तोकिएको मूल्यभन्दा प्रतिकेजी १–४ रुपैयाँसम्म बढी लिएको पाइयो। तर, पोखरा–१३ स्थित श्री प्रभुधाम हरियाली कृषि सहकारी संस्थाले ग्राहकलाई बिल दिएको, मूल्यसूची र सूचना बोर्ड स्पष्ट रूपमा राखेको पाइएपछि टोलीले संस्थालाई धन्यवाद दिएको छ । साथै, विषादी र बिउबिजन बिक्री गर्ने संस्थाहरूको पनि अनुगमन गरिएको थियो । इजाजतबिना बिक्री गर्नेहरूलाई आवश्यक प्रक्रिया पुरा गरी इजाजत लिएर मात्रै कारोबार गर्न निर्देशन दिइएको छ ।
स्थानीय रासायनिक मल वितरण तथा व्यवस्थापन समितिले निर्धारण गरे अनुसारको मूल्यमा मात्रै बिक्री गर्न, क्रेताले स्पष्ट रूपमा देख्ने गरि मलको मूल्य सूची राख्न, क्रेतालाई बिल बिजक उपलब्ध गराउन, रासायनिक मल उपलब्ध हुन्छ भन्ने जानकारी सहित संस्थाको बोर्ड बिक्री कक्षमा राख्न समेत निर्देशन दिइएको छ ।
अनुगमनमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका निमिक्त महानिर्देशक बालकृष्ण अधिकारी, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत गोविन्द पाण्डे, कृषि अर्थ बिज्ञ हिन्दी राई, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल र मल तथा माटो परीक्षण प्रयोगशालाका पोखराका प्रमुख सुनिल पाण्डेको उपस्थिती थियो । माटो बिज्ञ करिष्मा भुसाल, माटो अधिकृत खुबराज बराल, कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका प्रमुख ठाकुर प्रसाद बास्तोला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय पोखराका प्रमुख सागर शेरचन र पोखरा महानगरपालिका कृषि विकास शाखाका कृषि अधिकृत शिवसिंह धामी सहभागी थिए ।





पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया