‘पत्रकारितामा स्वतन्त्रता नाममा छाडापन होइन, नियमन जरुरी’ — मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

समाधान संवाददाता २०८२ असार १० गते १३:२९
फाइल फाेटाे :

पोखरा ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको भन्दै तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा जोड दिएका छन् ।


प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडआतन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’

Advertisement


मुख्यमन्त्री पाण्डेले चार वर्षअघि बन्द अवस्थामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयक आफूले अघि सारेको उल्लेख गर्दै पत्रकारिता नियमन राज्यको मात्र नभई सञ्चारकर्मीहरूको पनि साझा जिम्मेवारी भएको बताए ।


उनले हालै प्रशासनिक खर्च कटौती गर्न बनेको सुझाव समितिको सन्दर्भ उठाउँदै भने, ‘एउटा मिडियाले बीस लाख खर्च भयो भनेर लेख्यो । तर बीस लाख होइन, त्यो भन्दा आधा पनि खर्च भएको छैन । पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सक्नुहुन्छ नि ।’

Advertisement


उनले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’


मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रीम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालमा केही लेखियो, त्यसको भोलिपल्ट मिडियामा समाचार आउँछ । के सूचना हो र के होइन भन्ने छुट्याउनैपर्छ,’ उनले भने ।


उनले चेतावनीका रूपमा भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’

तपाईको प्रतिक्रिया