माछापुच्छ्रेको बजेट ६८ करोड

समाधान संवाददाता २०८२ असार ११ गते १२:१०

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा प्रस्तुत गरेको बजेटमा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिइएको छ ।

बजेटमा संघीय सरकारबाट २७ करोड ९४ लाख रुपैयाँ विशेष अनुदान तथा ११ करोड २४ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त हुने र आन्तरिक स्रोतबाट २ करोड १४ लाख तथा बैँक मौज्दातबाट ५ करोड ६४ लाख रहने उल्लेख छ । पर्यटन क्षेत्रमा शिखर संकटमा हिमाल, प्रदूषण, हिमनदी, जलवायु, दिगो पर्यटट्टन मर्दीसेती र हाम्रो भविष्य संवाद कार्यक्रम, मर्दीखोला पोखरा र माछापुच्छ्रे संवादका लागि बजेट विनियोजन गरेको छ ।

पर्यटन आपतकालीन खोज तथा उद्धार जनशक्ति उत्पादनका लागि ३ लाख बजेट छ । पशुपालन, मौरीपालन, कृषक अनुदान, कृषि उपज ढुवानी, माटो परीक्षण जस्ता कार्यक्रमका लागि २ करोड ४४ लाख विनियोजन गरिएको छ । शिक्षा क्षेत्रका लागि २ करोड ३४ लाख ७० हजार बजेट छ ।

Advertisement

सडक, भवन निर्माण, खानेपानी, सिँचाइ लगायत पूर्वाधार विकासका कार्यक्रमका लागि करिब ११ करोड ५० लाख र प्राकृतिक प्रकोप व्यवस्थापन, विपद् न्यूनीकरण, नदी नियन्त्रण लगायतका क्षेत्रमा ९५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । गाउँपालिकाको समग्र प्रशासन, सेवा प्रवाह र सूचना व्यवस्थापनलाई डिजिटल बनाउनका लागि डाटाबेस, सफ्टवेयर, क्यामेरा, बायोमेट्रिक प्रणाली लगायत खरिद गर्ने भएको छ । गाउँपालिका उपाध्यक्ष अधिकारीले स्रोतको सीमाबारे सचेत रही आवश्यकता अनुसार प्राथमिकताका आधारमा बजेट निर्माण गरिएको जानकारी दिइन् । कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण सरोकारवालाको सहकार्य अपेक्षा गरिएको उनले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया