पोखराका होटल सञ्चालकलाई एआई सिकाइयो

समाधान संवाददाता २०८२ असार ११ गते १२:१२

पोखरा ।

Advertisement

होटल संघ पोखरा नेपालले होटलकर्मी, होटलका कर्मचारीका लागि मंगलबार अभिमुखीकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्बन्धमा संघले कार्यक्रम आयोजना गरेको हो ।

कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाइन ट्राभल एजेन्सीको प्रयोगबाट २०२५ मा होटलहरुले कसरी बढीभन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जनाभन्दा बढी होटलकर्मी र कर्मचारी सहभागी थिए ।

Advertisement

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखीकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे । उनले होटल क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् महशुलमा उद्योग सरहको मान्यता दिएकोमा अर्थ मन्त्रालय र सरकारलाई धन्यवाद दिए ।

बैंकको ब्याजदर विगतमा २ अंकमा भए पनि अहिले एकल अंकमा झर्नु सकारात्मक भएको भनाइ उनले राखे । होटल संघ नेपालले गत वर्ष चीन र बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको स्मरण गराउँदै सल्लाहकार परिषद्का संयोजक पराजुलीले प्रवद्र्धनबाट मात्र पर्यटन अगाडि बढ्न सक्ने भनाइ राखे ।

Advertisement

आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाउँ है पोखरा र चलिए पोखरा जस्ता अभियान सञ्चालन गर्दै आएको स्मरण गरे । पोखराका होटलमा रहेको पाँच खर्बको लगानी जोगाउनका लागि पनि संघ सचेत भएर अगाडि बढेको भन्दै उनले आफ्ना सदस्यको हितका लागि संघ सँधै लड्दै आएको भनाइ राखे ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखीकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रोमिङ गर्ने अवसर भएको भनाइ राखे । कार्यक्रमका स्रोत व्यक्ति सन्तोष बरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएरभन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाइ राखे ।

उनले कार्यक्रममा अनलाईन ट्राभल एजेन्सी (ओटीए), अगोडा, बुकिङ डटकम लगायत होटल बुक गर्ने प्लाटर्फको अकाउन्ट सञ्चालन र एआईको प्रयोगबारे जानकारी गराएका थिए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखीकरण आयोजना गरेको हो ।
कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम सञ्चालन संघ सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया