घरपझोङले जलवायु सम्मेलन गर्ने

समाधान संवाददाता २०८२ असार ११ गते १२:१५

जोमसोम ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले वातावरण तथा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ । विश्वमै चिन्ताको विषय बनेको जलवायु परितर्वनलाई विश्व समुदायमाझ ध्यानाकर्षण गराउने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले सम्मेलन गर्ने भएको हो ।
सम्मेलनमा ७ सय ५३ वटै पालिका प्रमुखहरुको सहभागी रहने उल्लेख छ । मंगलबार आयोजित गाउँपालिकाको १६ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असरले वातावरणीय क्षेत्रमा प्रतिकूल असर पर्दै गएको बताए ।

उनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सन्देश प्रवाह गर्न गाउँपालिकाले सबै स्थानीय सरकार प्रमुखको उपस्थितिमा मुस्ताङमा ‘जलवायु’’सम्मेलन गर्ने जनाए । ‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम पालिकाले कार्यान्वयनमा ल्याउने छ,’ अध्यक्ष लालचनले भने, ‘वातावरण तथा जलवायु सम्मेलनबाट देशभरका स्थानीय पालिकाको जलवायु असर न्यूनीकरणको साझा घोषणापत्र जारी गर्ने छौं ।’

Advertisement

चालु आर्थिक वर्षमा घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण जोगाउ अभियानका लागि साइकल तथा घोडा ¥याली आयोजना गरी पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरण गर्नमा महत्वपूर्ण योगदान पुगेको निश्कर्ष निकालिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा पनि पर्यटन प्रर्वद्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन् ।

घरपझोङले गाउँपालिकाहरुसँग भगिनी सम्वन्ध स्थापित भइसकेका तहहरुमा स्थानीय संस्कृति तथा पहिचनान झल्किने गरी प्रतिमा निर्माण तथा अन्य कार्य गर्ने भएको छ । उपाध्यक्ष थकालीले स्वास्थ्य बिमा कार्यक्रम (दलित, अपांग तथा विपन्न नागरिक,स ामुदायिक महिला स्वास्थ्य स्वंयसेविका)को प्रिमियम भुक्तानीलाई निरन्तरता दिने जनाइन् । घरदैलो कार्यक्रम अन्तर्गत गाउँघर तथा क्लिनिक तथा ग्रामीण अल्ट्रा साउन्ड सञ्चालन, यातायात खर्च, अनुगमन तथा सामग्री व्यस्थापन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

Advertisement

प्रदेश अस्पताल मुस्ताङमा फार्मेसी सहायक व्यवस्था गर्दै आएकाले पारिश्रमिक अनुदानलाई निरन्तरता दिने र प्रदेश अस्पतालमा चिकित्सकको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको उपाध्यक्ष थकालीले बताइन् । बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरी स्थानीय शासन प्रर्वद्धनका लागि विद्यालयहरुमा सूचकहरुमा आधारित बालमैत्री र अपांगमैत्री पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

अध्यक्षसँग जनता कार्यक्रम तथा उपाध्यक्षसँग जनता कार्यक्रममार्फत स्थानीय नागरिकका माग समेट्ने व्यवस्थाका लागि बजेटमा समावेश गरिएको छ । गाउँपालिकामा लक्षित वर्गलाई नागरिकहरुसँगको कार्यक्रम बृहत्त स्वास्थ्य शिविर, बिमा, आर्थिक सहायता, दिवा खाजा, दिवस तथा समारोहलाई निरन्तरता दिइनेछ । विपद् जोखिम न्यूनिकरण गर्न नदी नियन्त्रण तटबन्ध निर्माण, जोमसोम गाउँभित्र ढल निकास तथा खानेपानी पाइपलाइन व्यवस्था, मार्फा खेलग्राम निर्माण, मार्फा—छैरो तटबन्ध निर्माण र अध्यक्ष कप खेलकुद लगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

गाउँपालिकाले २०८२/०८३ का लागि ३२ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमा पुँजीगत खर्च १२ करोड ५० लाख छ । बजेटमा संघीय समानीकरण अनुदान ७ करोड ५७ लाख र प्रदेश समानीकरण ७५ लाख ७ हजार प्राप्त हुने अनुमान छ । प्रदेश समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र सशर्ततर्फ २ लाख प्राप्त हुने अनुमान छ ।

संघीय राजस्व बाँडफाँड ८ करोड ५४ लाख तथा प्रदेश राजस्व बाँडफाँड ४८ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ ४ करोड ४७ लाख, सामाजिकतर्फ १३ करोड ५० लाख, पूर्वाधारतर्फ ७ करोड ८३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ३३ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४ करोड ९४ लाख बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया