गोलभेंडामा टुटा किराको बिगबिगी, लाखौँको लगानी खेर जाने किसानको चिन्ता

लेखनाथ । पोखरा महानगरपालिकाभित्रका विभिन्न वडाहरूमा लगाइएको गोलभेँडा खेतीमा टुटा किराको प्रकोपले किसानको लाखौँको लगानी खेर जाने अवस्थामा पुगेको छ । वर्षाको समयमा गोलभेँडाले राम्रो बजार पाउने आशमा टनेल बनाएर खेती गर्दै आएका किसानका बारीमा यो वर्ष टुटा किराले गोलभेँडाको पात, फूल र फलमा क्षति पु¥याउन थालेपछि पोखरा महानगरपालिकाअन्तर्गत लेखनाथ क्षेत्रमा यसको प्रभाव बढ्दै गएको छ ।
गोलभेँडा लगाएको दुई–तीन महिना नपुग्दै टुटा किराको प्रकोप बढेपछि बारीमा लगाइएका बिरुवा दिनप्रतिदिन बढ्नुको सट्टा लालो घट्दै जाँदा बिरुवा उखेलेर फाल्नुबाहेक अन्य उपाय नभएको पोखरा महानगरपालिका वडा नम्बर २७ जडज्यालका किसान ख्यामबहादुर भुजेलको गुनासो छ ।
रोगको प्रकोप नियन्त्रणका लागि घरेलु विधि अपनाउँदा पनि कुनै कमी नआएको र पछिल्लो समय बारीमा एलो ट्र्याप (पहेँलो प्लेट जहाँ किरा सहजै टाँसिन्छ) राखेर किरा नियन्त्रणको प्रयास गरिएको गोलभेँडा उत्पादक किसान भुजेलको भनाइ छ ।
बारीमा लगाइएका गोलभेँडामा परजीवी कीरा टुटाको प्रकोप बढ्न थालेपछि आफ्नो लाखौँको लगानी खेर जाने हो कि भन्ने चिन्ताले राज्यका कृषि कार्यालयहरूमा जानकारी गराए पनि तिनीहरूबाट कुनै चासो नदेखाइएको भुजेलको गुनासो छ ।
आफूसँग भएका १८ वटा टनेल निर्माणमा करिब नौ लाखभन्दा बढी खर्च भएको र राज्यबाट ५० प्रतिशत अनुदान प्राप्त भए पनि उत्पादन हुने समयमा रोगको प्रकोप नियन्त्रणका लागि राज्यबाट प्राविधिक सल्लाह भएमात्र रोग नियन्त्रणको पर्खाइमा रहेको भुजेलको सुझाव छ ।
लेखनाथको लामातराका किसानहरूले सबै प्रकारका तरकारी, माछा, कुखुरा, बंगुर र पशुपालनको पकेट क्षेत्र बनाउने उद्देश्यले विभिन्न समूह बनाएर अगाडि बढिरहँदा आफ्नो बारीमा फलेका गोलभेँडा, घिरौँला, करेलालगायत मौसमीदेखि बेमौसमी तरकारीहरू बेचेर मनग्य कमाउन सफल भएका छन् ।
२०४१ मा स्याङ्जाको पुतलीबजार नगरपालिका पीपलडालीबाट लेखनाथ आएर कृषि पेसा अँगाल्दै विदेशी भूमिमा सात वर्ष बिताएर पुनः नेपालमा नै केही गर्न सकिन्छ भन्ने प्रेरणा बोकेर विसं २०५७ देखि तरकारी खेतीलाई प्राथमिकता दिएका ख्याम भुजेलले श्रीमती, तीन छोरा, बुहारी र नाति–नातिनाको सहयोगमा परिवारको खर्च कटाएर वार्षिक दुई लाखभन्दा बढी बचत गर्न सफल भएको बताउँछन् ।
टनेल निर्माण गरेर वार्षिक रूपमा तरकारी खेती गर्दै आएका यस क्षेत्रका किसानहरूले मेहनत गर्ने हो भने अरबको खाडीमा गएर कमाउनेभन्दा दोब्बर पैसा स्वदेशमै आफ्नो परिवारसँग बसेर कमाउन सकिने बलियो उदाहरण प्रस्तुत गरेका छन् ।
कृषि पेसालाई व्यावसायिक बनाउनुपर्छ भन्ने सन्देश दिँदै सोही ठाउँका राजु भुजेलले लेखनाथको लामातरालाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने विचार राखेका छन् । यहाँको माटो, सिँचाइको सुविधा र जमिनको भौगोलिक बनोटका कारण यो क्षेत्रमा जुनसुकै तरकारी पनि उत्पादन गर्न सकिने र बजारीकरणको कुनै समस्या नरहेको उनको भनाइ छ ।
कृषि पेसालाई व्यावसायिक बनाउन यहाँका किसानहरू संगठित भएर लामातरा ताजा तरकारी कृषक समूह, कालीमाटी जलजले माछापालन कृषक समूह र गोलपाटन ताजा तरकारी उत्पादक कृषक समूह गठन गरी अगाडि बढेका छन् ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया