लेकसाइडमा भूमिगत तारबाट बिजुली वितरण नयाँ वर्षबाट

पोखरा ।
पर्यटन राजधानी पोखरा आउने जोकोहीले नछुटाउने ठाउँ हो लेकसाइड । फेवाताल किनारको लेकसाइडबाट छर्लङ देखिने हिमशृंखला, सडकसम्म पुग्दा कतै घरले छेक्छन्, कतै बिजुलीका तारले । अहिले ताल सीमांकनका लागि पोल गाडिँदै छ, सँगसँगै लेकसाइडलाई केन्द्रमा राखेर यहाँ बिजुलीका तार भूमिगत पनि गरिँदै छ ।
नेपाल विद्युत प्राधिकरणले पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत लेकसाइडलाई तारमुक्त बनाउन लागेको हो । प्राधिकरणले काठमाडौंका लाजिम्पाट र ठमेलमा तर भूमिगत गरेपछि पोखरा र भरतपुरका केही क्षेत्रमा तार जमिनमुनि बिच्छ्याउँदै छ । योजनाअन्तर्गत अहिलेसम्म पोखरामा ६५ प्रतिशत र भरतपुरमा ७५ प्रतिशत जति काम भएको छ ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदी पोखरा र भरतपुरमा आगामी वर्ष काम भइसक्ने बताउँछन् । ‘पोखरामा ६५ प्रतिशत र भरतपुरमा ७५ प्रतिशत जति काम भएको छ । आगामी आर्थिक वर्षभित्र काम सकिन्छ भन्ने हामीलाई लाग्छ,’ उनले भने ।
अहिले पोखराको हल्लनचोकदेखि वाराही चोकसम्म पाइप हालिँदै छ । लेकसाइडमा सबैजसो भित्री सडकमा केवल राखिसकिएको छ भने जिरोकिमीबाट बागलुङ जाने राजमार्गको मालेपाटनसम्म पनि पाइप राखिसकिएको छ । जरेबरदेखि हल्लनचोकसम्म आधा जति सडकमा काम भएको छ ।
राष्ट्रबंैक चोकदेखि वाराहीचोकसम्म र सिर्जनाचोकदेखि राष्ट्रबैंक चोकसम्म भने काम सुरु भएको छैन । बर्खा लागिसेकाले अब यहाँ तत्काल काम हुने सम्भावना कम छ । पृथ्वी राजमार्गको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि अमरसिंहचोक हुँदै पृथ्वीचोकसम्म काम सकिइसकेको छ । यहाँका साढे तीन सय घरमा भूमिगत तारबाट बिजुली बलिसकेको छ । चाँडै थप एक सय घरमा लाइन जोड्ने तयारी छ ।
पृथ्वीचोकबाट सिर्जनाचोक हुँदै लेकसाइडसम्म काम भइरहेको छ । तार भूमिगत भएपछि पोखराका ६ हजार र भरतपुरमा करिब २ हजार घरले यसबाट बत्ती बाल्न पाउनेछन् । २५ प्रतिशतमात्र काम बाँकी रहेको भए पनि आयोजनाले भरतपुरमा भने भूमिगत तारबाट बिजुली जोडेको छैन ।
‘भरतपुरमा भूमिगत तारबाट बिजुली पुगे पनि घरमा दिइएको छैन । चाँडै कनेक्सन दिने तयारीमा छौँ,’ सुवेदीले भने । एसियाली विकास बैंक (एडिबी)को २ अर्ब ५० करोड ऋण सहयोगमा चलेको परियोजनाको ठेक्का भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाएको छ ।
विद्युत्सँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर बिच्छ्याइँदै छ । प्राधिकरणको कार्यविधि नहुँदा टेलिफोन, केबल र इन्टरनेट भने भूमीगत प्रणालीबाट सुरु भएका छैनन् । यद्यपि परियोजनाअन्तर्गत टेलिफोन, केबल, इन्टरनेटका लागि आवश्यक पर्ने तारसमेत राखिसकिएको छ । काम भइसकेका स्थान विद्युत प्राधिकरणले कार्यविधि बनाए तत्काल कनेक्सन दिन सकिने सुवेदी बताउँछन् ।
प्राविधिक कारण र भौगोलिक अवस्थाले काममा केही ढिलाइ भए पनि अब चाँडै काम सकिने टाटा प्राजेक्टस्का लागि काम गरिरहेको गण्डकी ड्रिलिङ एन्ड कन्स्टन्क्सनका प्रबन्ध निर्देशक सरोज खनाल बताउँछन् । उनी भन्छन्, ‘पोखराको भूगोलका कारण एचडिडी प्रविधिबाट काम गर्न सकिएन, म्यानुअल्ली गर्दा ढिलो भएको छ । यहाँको भौगर्भिक अवस्था फरक खालको छ ।’
खन्दा ढुंगा भेटिने, खनिसकेको ठाउँमा पनि पुरिने जस्ता समस्या देखिएका छन् । दिउँसो २ नबज्दै पानी पर्न थाल्ने, अधिक वर्षा हुने र सडक विभागले वर्खाका बेला सडक खन्ने अनुमति नदिने भएकाले अब मनसुन सकिएपछि मात्र कामले गति लिने उनी बताउँछन् ।
अब असोज लागेपछि कामले गति लिने र यही आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख सुवेदीको भनाइ छ । ‘हामीले सडक विभाग, महानगर, खानेपानी संस्थान, स्थानीय सबैको साथ पाएका छौँ,’ उनी भन्छन्, ‘असारदेखि भदौसम्म मुख्य काम गर्न मिल्दैन । असोज लागेपछि काम सुरु गरी चैतभित्र भ्याउछौँ ।’
२०७८ माघमा २ वर्षभित्र काम सक्ने गरी यसको ठेक्का लागे पनि भरतपुरका काम सुरु भएको ६ महिनापछि मात्र पोखरामा काम सुरु भएको थियो । निर्माण कम्पनीलाई दोस्रो पटक थपिएको म्याद सन् २०२५ जुलाई ३१ मा सकिँदै छ ।
पोलमा तार टाँगेर बिजुली वितरण गर्ने प्रणालीभन्दा यो निकै महंगो हुन्छ । पोखरा उपत्यकाभरीकै बिजुलीका तार भूमीगत गर्न पाँच अर्बभन्दा बढी खर्च हुने अनुमान छ । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया