मुस्ताङका ४ पालिकामा ‘नाफा’ आयोजना

सुन्दरकुमार थकाली २०८२ असार १३ गते १२:३७

जोमसोम ।

मुस्ताङका चारवटा पालिकामा एकैसाथ पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (एनएएफएचए) परियोजना कार्यान्वयनमा आउने भएको छ । फलफूल तथा तरकारी बालीको प्रवद्र्धन र क्षेत्र विकास गर्ने र स्थानीय स्तरमा कृषकहरूको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिएर यस्तो आयोजना मुस्ताङमा पनि कार्यान्वयनमा ल्याउन लागिएको हो ।

यो आयोजना (एनएएफएचए) लाई संक्षिप्त रुपमा नाफा आयोजना भनिन्छ । नेपालका ५ प्रदेशमा कार्यान्वयनमा ल्याउने गरी सन् २०२२ को डिसेम्बर २ देखि सन् २०२९ को अगष्ट ३१ सम्म ७ वर्षका लागि आयोजना अवधि तोकिएको छ । नाफा आयोजना कार्यान्वयनका लागि कुल लागत ९३.४५ मिलियन अमेरिकी डलर खर्च हुने प्रक्षेपण गरिएको छ । नेपाल सरकार, एसियाली विकास बैंक, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमलगायतको लागत साझेदारीमा नाफा आयोजना कार्यान्वयनको चरणमा छ ।

Advertisement


पहाडी काष्ठफल तथा फलफूल विकास आयोजना नेपालका ५ प्रदेशमा कार्यान्वयनमा छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लाका एक सय स्थानीय तहमा नाफा परियोजना कार्यान्वयनमा आएको हो । आयोजना कार्यान्वयनका लागि ७ वटा कार्यालय स्थापना भइसकेका छन् । गण्डकी प्रदेशमा ब्याच एक, दुई र तीन गरी १० वटा जिल्लाका ३४ वटा स्थानीय तहमा आयोजना कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

गण्डकी प्रदेशमा पहाडी काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) को ब्याच तीन कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको आयोजना कार्यान्वयन इकाई गण्डकी प्रमुख एवं कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बालकृष्ण अधिकारीले जानकारी दिए । आयोजनाको ब्याच तीनको कार्यक्रम आ.व. २०८२/०८३ देखि गण्डकीका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ वटा स्थानीय तहमा कार्यान्वयनमा ल्याइने उनले बताए । मुस्ताङमा लोमान्थाङबाहेक चार पालिकामा नाफा आयोजना कार्यान्वयनमा ल्याउन लागिएको उनको भनाइ थियो ।

Advertisement

मुस्ताङको घरपझोङ, वारागुङ, थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आयोजना कार्यान्वयनका लागि स्थानीय सरोकारवालाहरूलाई यससम्बन्धी जानकारी दिइएको महानिर्देशक अधिकारीले जनाए । आयोजनाको निश्चित मापदण्डमा रहेर फलफूल तथा तरकारी बालीको क्षेत्र विस्तार र सुदृढीकरणका लागि हालसम्म १७ जनाले निवेदन पेश गरिसकेको उनले जानकारी दिए ।

फलफूल तथा तरकारी बालीको क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत आयोजनामा आवद्ध हुन कम्तीमा २० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने महानिर्देशक अधिकारीले जानकारी दिए । यसका लागि व्यक्ति, सहकारी, समूह र फार्महरूले मिलेर संयुक्त रूपमा २० रोपनी क्षेत्रफल पु¥याउनुपर्ने हुन्छ । साविकमा गरिएको फलफूल तथा तरकारी खेतीलाई आयोजनाले मान्यता नदिने बताइएको छ । आयोजनामा आवद्ध हुन स्थानीय तहमा गठित समन्वय समिति (एलएलसीसी) र त्यसलाई सहयोग गर्ने प्राविधिक समितिले छनोट गरेपछि मात्र आयोजनाले भेरिफाई गरी समेट्ने जनाइएको छ । आयोजनामा आवद्ध समूह, सहकारी, फार्म र व्यक्तिले फलफूल तथा तरकारी खेती विस्तार गरेबापत ५० प्रतिशत अनुदान सहुलियत पाउने छन् । आयोजनाले खेतीयोग्य क्षेत्रफल, विषादी, जनशक्ति, उपकरण, मललगायतमा अनुदान दिने जनाएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित कार्यक्रममा निर्देशनालयका महानिर्देशक अधिकारीले बृहत् प्रकारको फलफूल तथा तरकारी खेती गर्ने समूह, सहकारी र व्यक्तिहरूलाई लक्षित बाली विकासको प्रवद्र्धन र क्षेत्र विकासमा आर्थिक साझेदारी गर्ने बताए । आयोजनामा आवद्ध हुन असमर्थ हुनेले स्थानीय तह, कृषि ज्ञानकेन्द्र र परियोजना कार्यान्वयन इकाईमा पनि सुविधा प्राप्त गर्न सक्ने उनले बताए ।

घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले नाफा आयोजना मुस्ताङमा कार्यान्वयनमा आउनु सुखद सन्देश भएको बताए । उनले अनुदानको नाममा विगतमा विभिन्न प्रकारका बेथिति सिर्जना भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयन र पारदर्शितामा जोड दिनुपर्ने बताए ।

मुस्ताङका सरोकारवालाहरूले आयोजना हुने खाने र समृद्ध वर्गहरूका लागि मात्रै रहेको भनी आपत्ति जनाएका थिए । उनीहरूले मुस्ताङमा लालपुर्जावाला जग्गामा स्याउ खेती भइरहेको र यहाँ नयाँ जग्गामा खेती विस्तार गर्ने योजना चुनौतीपूर्ण भएको सुनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया