पोखरा ९ को विकासक्रम तस्बिरमा

समाधान संवाददाता २०८२ असार १३ गते १९:१४

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९ मा भएको विकासक्रमको फोटो प्रदर्शनी गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुल स्थित अन्तर्राष्ट्रिय झण्डा पार्क नजिकैको फल्चामा ‘तस्बिरमा पोखरा–९’ फोटो प्रदर्शनी गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ वरपरका क्षेत्रसँगै समग्र पोखराको ऐतिहासिक, पर्यटकीय, समसामायिक विषयका विकास क्रम झल्कने फोटो राखिएको एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले बताए । विभिन्न कालखण्डमा खिचिएका ४० फोटो प्रदर्शनीमा राखिएको उनले जानकारी दिए ।

कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदाससहित पोखरा ९ का वडा सदस्यहरु, पत्रकार, स्थानीय र विद्यार्थीहरुले प्रदर्शनी हेरेका थिए । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
फोटो प्रदर्शनीको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे । कार्यक्रममा मर्सानीले प्रदर्शनीमा राखिएका फोटो वडाको दस्तावेज र विकासको नमुना भएको दाबी गरे । पुराना फोटोले तत्कालीन अवस्था र हालको फोटोले विकास क्रममा माथि उठ्दै गरेको स्पष्ट देखिएको उनको भनाइ छ ।

Advertisement

फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको अध्यक्ष मर्सानीले सुनाए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनीले भएकोमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । आगामी दिनमा पनि फोटो पत्रकारले आयोजना गर्ने सिर्जनात्मक कार्यक्रम वडा कार्यालयले साथ दिने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मीले पत्रकारितामा फोटो अपरिहार्य रहेको बताए । शब्दले उल्लेख गर्न नसक्ने विषय फोटोले बुझाउन सहयोग पुग्ने भएकाले सबै सञ्चार गृहले फोटो पत्रकार नियुक्त गर्नुपर्नेमा उनको जोड छ ।

Advertisement

तपाईको प्रतिक्रिया