प्रगतिवादी साहित्यकार रविलालको योगदान पुस्तकमा

समाधान संवाददाता २०८२ असार १३ गते १९:१६

पोखरा ।

प्रगतिवादी साहित्यकार तथा समालोचक प्राडा रविलाल अधिकारीको ८० औं स्मृृति दिवसको सन्दर्भमा रविलाल अधिकारी स्मृतिग्रन्थ प्रकाशन गरिएको छ । रविलाल अधिकारी स्मृतिग्रन्थ प्रकाशन तथा सम्पादन समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो ।

पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइरालाले स्मृतिग्रन्थले रविलाल अधिकारी जीवन्त बनेको बताए । ‘रविलालको सादगी जीवन सबैका लागि अनुकरणीय थियो,’ उनले भने, ‘रविलालले जिन्दगी भर अविचलित भएर साहित्यिक यात्रालाई अगाडि बढाउनु भएको थियो ।’ उनले साहित्यकार अधिकारीको साहित्य लेखनप्रतिको प्रतिबद्धता र सादगी जीवनको सबैको लागि प्रेरणादायी भएको चर्चा गरे ।

Advertisement

बाम बुद्विजीवी रामराज रेग्मीले स्मृतिग्रन्थको जीवनी, स्मरण र परिशिष्ट भागको समीक्षा गरे । उनले रविलालको साहित्यिक तथा राजनीतिक यात्रा र शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरे । प्राडा रामनाथ ओझाले स्मृति ग्रन्थमा रविलालको स्मरणमा लेखिएको कविता, नियात्रा र निबन्धको बारेमा समीक्षा गरे । बुद्विजीवी तथा लेखक शेषमणि आचार्यले रविलाल मोफसलको स्थापित समीक्षक भएको बताए ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख डा यमनाथ तिमिल्सिनाले रविलाल सादा जीवन उच्च विचारको व्यक्तित्व रहेको चर्चा गरे । रविलालले प्रकाशन गरेको कृति र सिर्जनाहरु जीवन प्रयत्न अमर रहने बताए । रविलाल अधिकारीका छोरा प्रमोदले बुवाले २०१८ सालदेखि साहित्य क्षेत्रका कृति प्रकाशन गर्न थालेको बताए । गण्डकी साहित्य संगमले बाबा रविलालको स्मारिका प्रकाशन गरेको जानकारी दिदै उनले सबै साहित्यकारको सहयोगमा स्मृतिग्रन्थ प्रकाशन गरेको उल्लेख गरे ।

Advertisement

रविलाल अधिकारी स्मृतिग्रन्थ प्रकाशन तथा सम्पादन समितिका संयोजक रघुनाथ अधिकारी, रविलालकी श्रीमती सम्झानादेवी, साहित्यकार नारायण मरासिनी लगायतले रविलाल अधिकारीको स्मृतिग्रन्थबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया