‘हुन्न विभेद ढुक्क हौँ म सुरेन्द्रराज पाण्डेबाट’

पोखरा ।
‘सुनेकै छु, बुझेकै छु, सबै तिम्रा कुराहरू
धनसारै सानो भएर हो, रहेका सपनाहरू अधुरा
गयौ प्रश्न कविता र गीतबाट
हुन्न विभेद ढुक्क हौँ म सुरेन्द्रराज पाण्डेबाट।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन शुक्रबार प्रदेश सभाको रोष्टममा उभिँदा भावुक सुनिए। उनले लय, छन्द, अलङ्कारिता, भावनात्मक सन्देशसहितको सामाजिक-राजनीतिक सन्देशयुक्त कविता सुनाए। सत्तारूढ दलका सांसदहरूको बचाउ र विपक्षीहरूको आलोचनाबीच उनले अन्त्यमा कविता सुनाउँदै आफ्नो दृष्टिकोण सार्वजनिक गरे।
मुख्यमन्त्री पाण्डेले बजेट निर्माणमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको स्पष्ट पारे। उनका अनुसार यस पटकको बजेटमा नयाँ योजना कम गरिएर पुराना योजना र बाँकी दायित्व पूरा गर्न रकम छुट्याइएको छ। ‘७०/३० को अनुपातमा दायित्व सम्हालिएको छ,’ उनले भने, ‘५० लाखभन्दा कम बजेट नहाल्ने निर्णय भएको थियो, तर कतै-कतै सांसदहरूकै दबाबमा त्यो पनि हुन गएको छ।’
पाण्डेले गोरखा र कास्की जिल्लामा बढी बजेट गएको भन्ने आलोचनाको स्पष्टीकरण दिँदै भने, ‘सबै जिल्लामा दायित्वअनुसार बजेट छुट्याइएको छ। अहिले २२ वटा खानेपानी योजनाका लागि ५० लाखसम्म रकम छुट्याइएको छ।’
पाण्डेले २०७४ सालदेखि स्रोतको ख्याल नगरी बनाइएका योजनाका दायित्व अहिले तिर्न गाह्रो भएको उल्लेख गर्दै पुराना योजना नसकुन्जेल नयाँ योजना थोरै बनाउनुपरेको बताए। ‘धारो बनायौँ, तर पानी आउँदैन भन्ने प्रश्न थियो, अब ४२२ वटा पानी झर्ने धारा बनाउने योजना ल्याएका छौँ,’ पाण्डेले थपे, ‘यही रूपान्तरण हो भने बुझ्नुपर्छ।’
उनले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नीति, स्वास्थ्य क्षेत्रमा गण्डकी अस्पतालको ६०० बेड, न्याय सम्पादनका काममा सहयोग, बाटो विस्तारजस्ता योजनाहरू उल्लेख गर्दै ‘पोलिसी डिपार्चर’ अर्थात् नीतिगत परिवर्तनको प्रयास गरेको दाबी गरे।
‘बाहिर जे लेखे पनि, फेसबुकमा जे आए पनि, वास्तविकता त्यही हो जुन हामीले बजेटमा देखाएका छौँ,’ पाण्डेले भने, ‘गोरखालाई मात्र होइन, सबै जिल्लालाई ध्यान दिइएको छ।’
गण्डकी प्रदेशको बजेट छलफलमा तीन मन्त्रीले शुक्रबार जवाफ दिएका थिए। गण्डकी प्रदेश सभामा शुक्रबार सम्पन्न बजेटमाथिको मन्त्रालयगत छलफलमा ऊर्जा, स्वास्थ्य तथा भौतिक पूर्वाधार मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयको प्रगति, आगामी योजना र बजेटको औचित्यमाथि स्पष्टीकरण दिए।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले गण्डकी प्रदेशको ऊर्जा क्षेत्रले समृद्धिमा उच्च योगदान दिएको उल्लेख गर्दै आगामी वर्ष सौर्य तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको उपयोगमा विशेष जोड दिइने बताए। ‘यसै वर्ष उज्यालो गण्डकी प्रदेशको सपना पूरा हुनेछ,’ मन्त्री देवकोटाले भने, ‘डिजिटल गण्डकी हाम्रो लक्ष्य हो, जसलाई प्राविधिक रूपमा साकार पार्न लागिपरेका छौँ।’
स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशको स्वास्थ्य सेवा विस्तारमा सरकार गम्भीर रहेको उल्लेख गरे। उनका अनुसार आयुर्वेद अस्पताललाई प्रमुख प्राथमिकता दिइएको छ भने विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिँदै ९० लाख बजेट विनियोजन गरिएको छ। डायलसिस सेवा हाल ९ अस्पतालबाट सञ्चालनमा आएको र ९ जनाले सेवा लिइसकेको जानकारी दिँदै उनले ९८ जना पालोमा रहेको उल्लेख गरे। गत वर्ष ३०६ जनाले सेवा लिएको स्मरण गराउँदै उनले यो सेवा प्रत्यक्ष जनसम्पर्कमा रहेको बताए। अस्पतालका बेड वृद्धि, दीर्घकालीन स्वास्थ्य योजना, र अस्थायी करार कर्मचारीको अवस्थालाई समेत ध्यान दिइएको मन्त्रीको भनाइ थियो।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसीले चालु आर्थिक वर्षमा मन्त्रालयले ९३० किमी कालोपत्रे, ६९६ किमी ग्राभेल सडक, ११० सडक पुल र ८४ झोलुङ्गे पुल निर्माण गरेको जानकारी दिए। उनले ११ अर्ब ९८ करोड बजेट प्रस्ताव गरिएकोमा ६५ प्रतिशत बहुवर्षीय तथा स्रोत सुनिश्चित योजनामा विनियोजन गरिएको बताए।
कास्कीमा १ अर्ब ४८ करोड र गोरखामा ९८ करोड बजेट विनियोजनबारे मन्त्री केसीले स्पष्ट पारे, ‘प्रदेश राजधानी र पर्यटन केन्द्र भएकाले कास्कीमा बढी बजेट अस्वाभाविक होइन।’ म्याग्दीमा ६० करोड ७७ लाख बजेटमध्ये अधिकांश बहुवर्षीय योजनामा केन्द्रित रहेको बताए।







फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया