पोखरा १३ मा सार्वजनिक सुनुवाइ, विकासदेखि विकृतिसम्मका गुनासा

पोखरा ।
विजयपुरकी धनकुमारी गुरुङले आफ्नो क्षेत्र वडाबाटा साह्रै पिछडिएको गुनासो गरिन् । उनले पहिरोलाई देखाएर मुख्य सडक निर्माणमा सरकारले बजेट नदिएको गुनासो राखिन् । ‘त्यो पहिरोलाई ताकेर, टार्गेट गरेर बाटो नबनाउने भन्ने हुँदैन । त्यसलाई बजेट मागौं,’ उनले भनिन्, ‘तत्कालका लागि नियमित हिडिरहने बाटोमा काम गरौं । पहरेपानी, चिसापानी बिजयपुरको बाटो निर्माण हुनैपर्छ ।’
अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक विमल बरालले विद्यालय व्यवस्थापन समिति गठनमा चरम दलीयकरण भएकोमा गुनासो राखे । ‘विगतमा एउटा पार्टीको सत्ता थियो, सबै अध्यक्ष सोही पार्टीबाट आए । अहिले अर्को पार्टीको सत्ता छ, सबै अध्यक्षहरु सोही पार्टीका छन्,’ उनले भने, ‘यसरी विद्यालय चल्ला ? स्कुलमा योग्य र दलविहीन व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ ।’
आर्वा विजय माध्यमिक विद्यालयकी छात्रा स्वस्तिका विश्वकर्माले स्कुलमा पानी नभएको देखि खाजा खान समेत नपाएको गुनासो गरिन् । ‘हाम्रो विद्यालयमा शुद्ध खानेपानीको उपलब्ध छैन । जसका कारण हामी विद्यार्थीहरु दिन प्रतिदिन प्यासमै पढिराख्नुपरेको छ,’ उनी भन्छिन्, ‘न खेल मैदान छ । न त खाजा खान क्यान्टिन छ । वडाले ध्यान दिनुप¥यो ।’
पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष २०८१।०८२ को सम्पादित सेवा प्रवाह र विकास निर्माणबारे सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । वडामा भएको कार्यक्रमका सहभागीहरुले विकास निर्माण, शिक्षा क्षेत्रको सुधारदेखि सामाजिक विकृतिसम्मका गुनासाहरु राखेका छन् । कृषि क्षेत्रमा ढाँडबेँसीको तरबुजा खेतीलाई ब्रान्डिङ गरिए पनि किसानले आधारभूत पूर्वाधार नपाएको किसान रोशन बराल बताउँछन् ।

‘हामीले वडा नम्बर १३ लाई तरबुजा खेती गरेर नेपाल भरिनै ब्रान्डिङ गर्दै गर्दा किसानहरूलाई चाहिने पूर्वाधारहरू के भए त ?,’ उनी भन्छन्, ‘किसानहरूको लागि बिजुली, बत्ती र सडक भएन भने खेतीमा केही कामै छैन । आगामी बजेटमा विशेष व्यवस्था होस् ।’ यसका साथै सामुदायिक कुकुर, लागुऔषध दुव्र्यसनी, अव्यवस्थित बिजुलीका तार र गौंडामुख क्षेत्रको डुबानको समस्याबारे पनि नागरिकले जोडदार प्रश्न गरे । यस्तै, सार्वजनिक जग्गा संरक्षण, ज्येष्ठ नागरिकलाई दिवा सेवा केन्द्र निर्माण जस्ता विषयमा नागरिकले वडालाई सुझाव दिए । उनीहरुले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक विकृतिबारे आफ्ना भनाइ राखेका हुन् ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष किरण बरालले वडाले गरेका काम र भावी योजनाबारे प्रस्ट पारे । उनले गौंडामुखको डुबानजस्ता ठूला योजनाका लागि प्रदेश र संघसँग समन्वय गरिरहेको, विजयपुरको बाटोलाई प्राथमिकतामा राखेको बताए । उनले शिक्षामा लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताए । छाडा चौपाया व्यवस्थापनका लागि महानगरले गौशाला बनाएको र छाडा कुकुर नियन्त्रणका लागि टोल समितिसँग मिलेर काम गर्ने उनको प्रतिवद्धता छ ।
बरालले सार्वजनिक जग्गाको अभिलेखीकरण गरिएको, मापदण्डविपरीतका निर्माण कार्यलाई रोकिएको र कृषकहरूलाई प्रोत्साहन गर्न विशेष बजेट छुट्याइने बताए । ‘सबै काम एकैपटक सम्भव छैन । तर प्राथमिकताका आधारमा वडाले समानुपातिक ढंगबाट काम गरिरहेको छ,’ उनी भन्छन्, ‘बाँकी रहेका कामहरु पनि क्रमशः सम्बोधन गर्दै जान्छौं ।’ उनले नागरिकका गुनासालाई सम्बोधन गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए भने वडा सदस्य रजनी परियारले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारिन् ।
वडा सचिव अन्जु गुरुङले हालसम्म भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा यसअघिको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनाएको प्रतिबद्धता कार्यान्वयनबारे वडाध्यक्ष बरालले नै जानकारी गराए ।








साढे ८ अर्बको मुद्दा चल्दा ३ गम्भीर विषयमा छुट्टै अनुसन्धान
बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
सरकारी कार्यालयको खर्च ९२ करोड
गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया