एमालेलाई कमजोर बनाउने प्रयत्न भोः पोखरेल

पोखरा ।
जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तिको सन्दर्भमा नेकपा (एमाले) पोखरा महानगर पालिका कमिटीले शनिबार विचार गोष्ठी गरेको छ । कार्यक्रममा पार्टीको मुखपत्र ‘अभियान’ अंक २ सार्वजनिक गरियो ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले विचार, कार्यक्रम, नीति र नेतृत्वको पक्षमा एमाले एकताबद्ध भएको बताए । उनले एमालेमा न विचार, न नेतृत्वको पक्षमा बहस गर्ने स्थिति भएको दाबी गरे । एमालेको एकता कसैलाई मन नपरेको उनले उल्लेख गरे ।
महासचिव पोखरेलले हिजो विष्णु पौडेल कि शंकर पोखरेल भन्ने कित्ताकाटको खेतीपाती आज अर्कोतिर सुरू भएको टिप्पणी गरे । उनले हिजो भएका कित्ताकाटको आवश्यकता हराएकोमा फेरि अहिले नयाँ रुपमा सुरू भएको बताए ।
‘विगतमा पत्रपत्रिका, सामाजिक सञ्जालमा विष्णु पौडेल कि शंकर पोखरेल भनेर कित्ताकाट गर्ने प्रयत्न भयो । आज त्यो कित्ताकाटको आवश्यकता हराएर गयो,’ उनले भने, ‘एमालेलाई कमजोर बनाउन ध्रुव खडा गर्ने अर्को खेतीपाती अर्कोतिर सुरू भएको छ ।’ उनले पार्टीलाई कमजोर बनाउन अवसरवादी सलबलाएको आरोप लगाए ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल र मिडियामा अनेक खालका प्रवृत्ति देखापरेको चर्चा गरे । एमालेलाई कमजोर पार्न गुट खडा गर्ने प्रवृत्ति पार्टीको हितमा नभएको सबैले बुझ्न पर्ने चर्चा गर्दै उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने ठोकुवा गरे । तथापी सामाजिक सञ्जालमा, मिडियामा अनेक खालका प्रवृत्ति देखा परिराखेका उनले उल्लेख गरे ।
पार्टीभित्र आकांक्षाको अन्तरद्वन्द्व देखिएको र स्थानीय तहमा अन्तर द्वन्द्व कायम रहेको उनले बताए । त्यसलाई गुटबन्दीको स्वरूपमा ढाल्न नेताको नाममा धार खडा गर्ने प्रवृत्ति विकास भएको टिप्पणी गर्दै उनले आकांक्षाको अन्तर द्वन्द्व र स्थानीय अन्तर बिरोधलाई समाधान गर्न सकिने दाबी गरे ।
फरक प्रसंगमा महासचिव पोखरेलले हरेक २ महिनामा गठबन्धन भत्किएको र नयाँ समीकरण सुरु हुने गरेको बताए । तर सरकार चलेको चल्यै हुने उनले उल्लेख गरे । हरेक २ महिनामा चलेको हल्लाले पार्टीमा समेत भ्रम छरेको उनको टिप्पणी छ ।
पूर्व राजा ज्ञानेन्द्रका समर्थक, माओवादी र बाह्य शक्तिको असान्दर्भिक एजेन्डा असफल भएपछि एमालेमाथि प्रहार भएको आरोप लगाउँदै नेता पोखरेलले खराबको प्रहारले एमालेको दिशा सहि भएको बताए । अवसरवादको समाप्तिबाट बलियो कम्युनिस्ट आन्दोलन निर्माण हुने चर्चा गर्दै उनले १ वर्ष अगाडि भएको प्रतिनिधि परिषद्को बैठकको निश्कर्ष एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रहेको जानकारी दिए । उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, एमाले स्थायी कमिटीका पूर्व सदस्य साेमनाथ अधिकारी प्यासी, एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागी, एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, प्राडा यदुनन्दन उपाध्याय, एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, सचिव सुशील बस्नेत लगायतले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता र आवश्यकताको बारेमा बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, तरेली सांस्कृतिक परिवारका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक लोचना अधिकारीले मदन भण्डारीको बारेमा कविता वाचन गरेकी थिइन् ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया