राजगोमन ‘वडा सर्प’, गोठे लाटोकोसेरो ‘वडा पंक्षी’

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिीनग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा गरेको छ । स्नेक कन्जर्भेसन सोसाइटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडाध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेका हुन् ।
वडा कार्यालयको बैठकबाट निर्णय गरेर शनिबार उक्त कार्यक्रममा औपचारिक रुपमा वडासर्प र वडापंक्षी घोषणा गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । नेपालमा यस सर्पलाई वडा सर्पको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिका वडा नं. २५ हेमजा पहिलो स्थानीय तह हो । जैविक विविधताको रक्षा र राजगोमनलाई सम्मान जनाउँदै यो घोषणा गरिएको हो ।
संसारमा लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिब ४० र हेमजामा करिब २२ प्रजातिका सर्प अभिलेख गरिएको छ । राजगोमनले मुख्यतः सर्प खाने भएकाले अन्य सर्पको संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ ।
लजालु प्रजातिको यो सर्प हेमजाका खोला नदी, वनजंगलमा गुँड बनाएर बच्चा पनि हुर्काउछ । परापूर्व कालदेखि नै यो सर्पलाई नाग पञ्चमीका दिन पूजा गरिँदै आएको छ । राजगोमनको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रम स्नेक कन्जर्भेसन सोसाइटी नेपालले ८ वर्षदेखि गर्दै आएको छ । नेपालमा लाटोकोसेरोलाई वडा पंक्षीका रुपमा घोषणा गरिएको यो दोस्रो हो ।
यसअघि खोटाङको जालपामा हाप्सिलोलाई घोषाण गरी विभिन्न संरक्षणका काम हुँदै आएको छ । विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरो अभिलेख गरिएका तीमध्ये २३ प्रजाति नेपालमा पाइन्छ । तीमध्ये १३ प्रजाति पोखरा उपत्यका र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए । थप अनुसन्धान गरेमा यो संख्या बढ्न सक्नेछ ।
लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पंक्षी हो । जसका कारण हेमजाको क्षेत्र यसको लागि उपयुक्त बासस्थान भएको हुनाले यहाँ उल्लेख्या संख्यामा पाइन्छ । लाटोकोसेरोले मुसा खाएर मुसा नियन्त्रण ठूलो भूमिका खेल्ने भएकाले पनि यसलाई किसानको साथी पनि भनिन्छ । गोठे लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजार देखि ३ हजारसम्म मुसा खान सक्छ ।
लाटोकोसेरो संरक्षणका लागि प्रकृतिका साथीहरु संस्था र डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २५ सँग सहकार्य गरी यस क्षेत्रमा धेरै कार्यक्रमसमेत गरिसकेको छ । ह्टिली पुरस्कारको रकम प्रकृतिको साथीहरु संस्थामार्फत यस क्षेत्र संरक्षण विभिन्न गतिविधि सञ्चालन भएका छन् ।
वडाध्यक्ष तिम्सिनाले यो घोषणले हेमजाको क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाउँदै पर्यापर्यटन प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले लाटोकोसेरो तथा स्नेक कन्जर्भेसन सोसाइटी नेपालका अध्यक्ष डा रामाजी गौतम र अनुसन्धानकर्मी अभिशेक सापकोटाले सर्पको विषयमा सहजीकरण गरेका थिए ।
स्नेक कन्जर्भेसन सोसाईटी नेपालका अध्यक्ष डा रामजी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष केशवराज सापकोटा र सचिव प्रकाशचन्द्र सापकोटाले पनि बोलेका थिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया