
असार १३ गते शुक्रबार साँझ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भयो । गत वर्षको भन्दा नतिजा सुधार भएको भन्दै अधिकारीहरुले गर्व महशुस गरे । वक्तव्य र बधाईका सामग्रीहरु प्रवाह भए । एसइई दिने बाबुनानीहरु भएका घर र माध्यमिक तह पढाउने विद्यालय र शिक्षकहरुमा पनि निकै उत्साह र चासो देखिन्थ्यो ।
पढाउने मास्टर जस्तो देखिएछु की कुन्नि हिजो साँझ घर बाहिर निस्कँदा म:म: पसलकी साहुनी दिदीले सोधिन, ‘३.६ भनेको ए हो कि ए+ हो, सर ?’ कान्छी छोरीले ३.६ एसइई प्राप्त गरिछन् । निकै उत्साहले सोधेकी थिइन। मलाई के भनौं के भनौं भयो । ए+ हो दिदी भन्दिएको भए पनि हुन्थ्यो क्यारे । ‘३.६ भनेको ३.६ नै हो दिदी ‘ भनेँ। ‘ ए, हो ! ‘ भनेर फिस्स हाँसिन् र गइन्। आज दिनभरि ग्लानि भइरहेको छ । अब कुनै दिन म:म: खान ती दिदीको मा जाउँ की नजाउँ!
परीक्षामा सहभागी भएपछि नतिजाको चासो त हुन्छ नै। तर फागत एउटा अंक वा अक्षर माथि मात्रै साराको यति धेरै चासोको अर्थ बुझ्न सकिएन । शिक्षा गन्तव्य भन्दापनि एउटा राजमार्ग हो । साध्य भन्दापनि साधन हो । यदि सही दिशामा हामी हिँडिरहेका छौं भने त्यसका प्रतिफलहरु बहुआयामिक रुपमा प्राप्त हुँदै जान्छन्। एउटा प्रसंग सम्झिन्छु, सात समुन्द्र पारीको ।
अंक बढाउने / घटाउने गरेर शिक्षा उकासिदैन । माथि बाट सम्भव नभए तल बाट भएपनि पहलकदमी लिनुपर्ने छ । हामीले माथि हेरेर मात्र हुँदै भएन
तत्कालीन सोभियत संघले आजभन्दा ठीक ६८ वर्ष अगाडि ४ अक्टोबर १९५७ मा ‘स्पुतनिक १’ नामक धर्तीको पहिलो कृत्रिम उपग्रह वा यान प्रक्षेपण गर्यो । त्यसबेला अमेरिकाको स्थिति निकै आश्चर्य, डर र हतारको थियो। यसलाई “स्पुतनिक संकट” भनिन्थ्यो। धेरै अमेरिकनहरूले डर मान्न थाले कि यदि सोभियत संघले उपग्रह पठाउन सक्छ भने उनीहरूले न्यूक्लियर मिसाइल पनि अमेरिका सम्म पठाउन सक्छन्। यसले गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षाको डर र शिक्षा प्रणालीप्रति आलोचना बढ्यो।
यस आत्माआलोचना पश्चात अमेरिकाले महसुस गर्यो कि उनीहरूको विज्ञान र गणित शिक्षा कमजोर छ। त्यसपछि सरकारले विद्यालय र विश्वविद्यालयमा STEM शिक्षा (Science, Technology, Engineering, Math) मा ठूलो लगानी गर्यो। सन् १९५८ मा “National Defense Education Act” पारित गरियो, जसले विज्ञान र प्रविधि शिक्षामा सुधार ल्यायो। सँगसँगै त्यही वर्ष NASA (National Aeronautics and Space Administration) को स्थापना गरियो। यसले अमेरिका र सोभियत संघबीचको “Space Race” सुरु गर्यो। यसले शिक्षा, विज्ञान, र अन्तरिक्ष अनुसन्धानमा ठूलो क्रान्ति ल्यायो। सोभियत संघलाई पछि पार्न व्यापक प्रयास भयो।
नासा स्थापना भएको 3 वर्ष पछि १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी दुवै सदनको संयुक्त बैठकमा चन्द्रमा छुने संकल्प सुनाए । उनले भने “यो दशक सकिनु अगावै हामी चन्द्रमामा टेकेर पृथ्वीमा सकुशल आउनेछौं,’ । त्यसबेला सम्म नासा र सारा अमेरिकी वैज्ञानिकलाई चन्द्रमासम्म पुग्ने रकेट कसरी बनाउने भन्ने आधारभूत ज्ञान पनि थिएन । तर ‘मुनसट ‘ (चन्द्र संकल्प) भनेर चिनिने उक्त चर्चित भाषण अमेरिकाको अर्जुनदृष्टि बन्यो । नासाको बजेट प्रति वर्ष ११० प्रतिशत भन्दा बढीले बढ्यो । बजेट मात्रै बढेन, एउटा सपना बोकेर नतिजा हासिल गर्न लागियो । ४ लाख भन्दा बढी वैज्ञानिक र इन्जिनियर ले निरन्तर काम गरे । स्कूल देखि विश्वविद्यालय सम्म सारा पाठ्यक्रम परिवर्तन गरी वैज्ञानिक चेत र विषयवस्तु घुसाइयो।
राष्ट्रपतिको उक्त घोषणा पछि झण्डै आठ वर्षमा अर्थात् साठीको दसक नसकिँदै सन् १९६९ जुलाई २० मा क्यानेडी अन्तरिक्ष स्टेशनबाट ‘एपोलो ११ ‘ नामक यान प्रक्षेपण भयो र अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले पहिलो मानवका रुपमा चन्द्रमामा पाइला टेके । आजको अमेरिकाको सारा भैभव को राज यही हो ।
तर नेपालमा यस्तो ज्ञान र विज्ञानको जागरण आएको छैन र त्यो नआई समृद्धि सम्भव छैन । नेपालमा शिक्षा राज्यको प्राथमिकतामा पर्दैन । शिक्षा मन्त्रालयमा दलहरुको आकर्षण हुँदैन । Vision र Mission मा नै समस्या छन् । संविधानमा नै त्रुटि छ, आउँदै गरेको शिक्षा विधायक उपयुक्त निकास हुन्छ भन्नेमा ढुक्क हुन सक्ने स्थिति छैन ।
अंक बढाउने / घटाउने गरेर शिक्षा उकासिदैन । माथि बाट सम्भव नभए तल बाट भएपनि पहलकदमी लिनुपर्ने छ । हामीले माथि हेरेर मात्र हुँदै भएन । घर, टोल, समाज हुँदै एउटा ‘ नेपाली सपना ‘ को निर्माण गर्नु छ । यो सपना निर्माण गर्नका लागि अहिले हाम्रो देशका स्थानीय सरकारहरु योग्य र उपयुक्त निकायहरु हुन । यी निकायहरुमा पनि कस्नुपर्ने नट बोल्ट र फाल्नुपर्ने खिया अझै धेरै बाँकी छ तर मुख्य प्रश्न मेहनत र कार्यदिशाको हो ।
स्थानीय तहहरुको सार्वजनिक सुनुवाइहरु चलिरहेका छन् । अब गिट्टी बालुवा भन्दा गिदी र सपनाको कुरा गरौं। सबै मिलेर एउटा उन्नत ‘ नेपाली सपनाको ‘ निर्माण गरौं । नतिजा भित्रै बाट सुधारौं। नशा नशाबाट सुधारौं। ३.६ एसइई को साँचो अर्थ त्यतिबेला बुझिनेछ।









साढे ८ अर्बको मुद्दा चल्दा ३ गम्भीर विषयमा छुट्टै अनुसन्धान
बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
सरकारी कार्यालयको खर्च ९२ करोड
गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया