शिक्षा क्षेत्रमा भद्रकाली माविको शैक्षिक छलाङ, ४ जनाको ४ जिपिए

समाधान संवाददाता २०८२ असार १५ गते १३:३४

पोखरा ।

पोखरा महानगरपालिका-१३, कुँडहरस्थित भद्रकाली माध्यमिक विद्यालयमा यतिबेला खुसीयालीको लहर छाएको छ। एसईई-२०८१ को नतिजा सार्वजनिक भएसँगै विद्यालयले सामुदायिक शिक्षाको क्षेत्रमा एक ऐतिहासिक छलाङ मारेको छ। विद्यालयका चार जना प्रतिभाशाली विद्यार्थीले ४.० जिपिए ल्याएर नतिजालाई अविस्मरणीय बनाएका छन्, जसले विद्यालयको शिर मात्र उच्च बनाएको छैन, समग्र सामुदायिक विद्यालयप्रति नै आशाको दियो बालेको छ।

कुनै बेला सीमित स्रोत र साधनका बीच स्थानीय शिक्षाप्रेमीहरूको पहलमा चौतारी र पाटीबाट सुरु भएको यो विद्यालय आज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएको छ। यो सफलताको पछिल्लो उदाहरण हुन्, ४.० जिपिए ल्याउन सफल विद्यार्थीहरू- सृष्टि अधिकारी, प्रेरणा परियार, सिजन ढेवाजू र प्रिया राना मगर। विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीका अनुसार परीक्षामा सहभागी १०० जनामध्ये ८६ जना विद्यार्थी विभिन्न जिपिएमा उत्तीर्ण भएका छन्, जुन आफैँमा एक उत्कृष्ट नतिजा हो।

Advertisement

“यो हाम्रो लागि सपना साकार भएजस्तै हो,” हर्षले गद्गद हुँदै प्रधानाध्यापक पगेनीले भने, “सामुदायिक विद्यालयबाट एकैपटक चार जनाले ४.० जिपिए ल्याउनु सामान्य कुरा होइन, यो एक ऐतिहासिक उपलब्धि हो। यो नतिजाले विद्यालय परिवारमा बेग्लै ऊर्जा र उत्साह थपेको छ।”

भद्रकाली माविको यो सफलता कुनै रातारातको चमत्कार होइन, बरु दशकौंदेखिको निरन्तर मेहनत, त्याग र शैक्षिक समर्पणको प्रतिफल हो। स्थापनाकालमा अनेकौँ चुनौती र संघर्षहरूलाई झेल्दै स्थानीयवासीको साथ र सहयोगमा हुर्किएको यो विद्यालयले समयसँगै आफूलाई परिमार्जन गर्दै लगेको छ। निजी विद्यालयहरूको चमकदमकका बीच आफ्नो पहिचान र गुणस्तर जोगाउनु सधैँ चुनौतीपूर्ण रह्यो, तर विद्यालयले कहिल्यै हार मानेन।

Advertisement

यो सफलताको श्रेय विद्यार्थीको अथक परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र अभिभावकहरूको अटुट विश्वासलाई दिँदै प्रधानाध्यापक पंगेनीले भने, “यो सफलताको पछाडि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धको जित छ। हामी वर्तमान तथा पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शुभचिन्तकहरू र सम्पूर्ण स्थानीयवासीको निरन्तर साथ र सहयोगप्रति कृतज्ञ छौँ।”

विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप भण्डारीका अनुसार सबै विद्यार्थीले सन्तोषजनक नतिजा प्राप्त गरेका छन् र विद्यालयको समग्र नतिजामा उल्लेख्य सुधार आएको छ। यो नतिजाले सामुदायिक विद्यालयहरूले पनि उचित व्यवस्थापन, दृढ इच्छाशक्ति र सामूहिक प्रयास भएमा निजी विद्यालयसरह वा अझै उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने कुरा प्रमाणित गरेको छ।

भद्रकाली माविको यो ऐतिहासिक सफलताले अन्य सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ भने आम अभिभावकमा सामुदायिक विद्यालयप्रतिको विश्वासलाई थप बलियो बनाएको छ। कुँडहरको काखमा रहेको भद्रकालीले एसइईको नतिजामा मारेको यो छलाङ साँच्चिकै सराहनीय र अनुकरणीय छ। यसले देखाएको छ- सरकारी विद्यालयको आँगनमा पनि उत्कृष्टताका फूलहरू फुल्छन्, मात्र त्यसलाई मलजल गर्ने कुशल मालीहरूको खाँचो पर्दछ।

तपाईको प्रतिक्रिया