हिलोमा प्रफुल्ल पर्यटक

धनबहादुर गुरुङ २०८२ असार १६ गते १०:१६

पोखरा ।
हली, हलो, हल गोरु, जूवा, दाँदे, कोदालोसँगै रोपाहारहरु मेलोको तयारी गर्दै थिए । कोही स्टेज बनाउँदै त कोही अतिथि सत्कारमा तल्लीन । चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त पोखरा २६ गुँदे ताल किनारमा आइतबार बिहानदेखि नै मानिसको निकै चहलपहल थियो ।


त्यहाँ रोपाइँ महोसत्वको तयारी हुँदै थियो । जोरजाम सकिएपछि केही समयमा नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २० औं असारे रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम सुरु भयो । १९ औं संस्करणसम्म पोखरावरपर गरिएको महोत्सव यो पटक साविकको लेखनाथ नगरपालिका लगिएको हो । आफ्नो क्षेत्रमा पहिलो पटक आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन स्थानीयको खटाईं गज्जबको देखियो ।


औपचारिक कार्यक्रम धेरै लामो भएन । प्रमुख अतिथिका रुपमा डाकिएका गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले हलगोरु दौडाउँदै गह्रो सायर महोत्सव उद्घाटन भयो । सुरुआत भएको केही समयमै पर्यटक दौड प्रतियोगिता हुने सूचना भनियो । पर्यटकलाई गुँदे तालसम्म पुर्‍याउने चाँजोपाजो मिलाएको थियो ।

Advertisement


पोखरा पर्यटन परिषद्को निमन्त्रणामा पोखरा २६ पुगेका पर्यटक दौडन हिलोमा झरे । केही समय हिलोमा रमाए । हिलो र पानीले रंगिएपछि सुरु भयो दौड । दौड सकिएपछि पनि उनीहरु हिलो खेल्दै थिए । केही समयपछि रस्साकस्सी, माछा समात्ने खेलमा सहभागी बने । उनीहरुका लागि हिले महोत्सव नौलो थियो ।


पोखरा घुम्न आएका क्यानाडाका नथनले निकै रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए । उनले यो महोत्सवको कुरा आफ्ना साथी र आफन्तलाई सुनाउने बताए । ‘हामी हिलोमा खेल्यौं, हिलोमै दौड, रस्साकस्सी, माछा समात्ने प्रतियोगितामा भाग लियौं,’ उनले भने, ‘यो साँच्चै, साँच्चै उत्कृष्ट लाग्यो । कस्तो अद्भूत समय बितायौं धन्यवाद पोखरामा यो महोत्सव गर्ने टिमलाई ।’

Advertisement


अस्ट्रेलियाकी मेरीले पनि पोखरा घुम्न आउँदा नयाँ अनुभव लिन पाएको बताइन् । नेपाल घुमाईंको मुख्य आकर्षणका रुपमा यो महोत्सवलाई लिएको उनको प्रतिक्रिया छ । ‘नेपालमा मैले बिताएको समयको एउटा मुख्य आकर्षण रह्यो यो । आज मैले धेरै रमाइलो गरें,’ उनले भनिन्, ‘मैले यहाँ धेरै स्थानीय मानिसलाई भेटेको छु । म यहाँ संस्कृतिमा समावेश भएकोमा खुसी छु ।’


विदेशी पर्यटक आपसमा हिलो छ्यापाछ्याप गरेको दृश्य निकै रोचक थियो । आयोजक परिषद् अध्यक्ष तारानाथ पहारीले पोखरा आएका करिब १ सय पर्यटकलाई महोत्सव लगिएको बताए । उनीहरु मुख्यतः हिलोमा विभिन्न मनोरञ्जनात्मक खेलमा सामेल बनेका थिए । यो पटक शान्तिप्रेमी आमा समूहले स्थानीय आयोजकका रुपमा परिषदलाई सघाएको छ ।


महोत्सवमा आमा समूहबीच असारे रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (आन्तरिक तथा बाह्य पर्यटक, महिला पुरुष, पत्रकार), रस्साकस्सी प्रतियोगिता र (आन्तरिक तथा बाह्य पर्यटक महिला/पुरुष) प्रतियोगिता भए । सँगै सांगीतिक प्रस्तुति र उत्कृष्ट कृषकलाई सम्मान पनि गरियो ।


कार्यक्रममा गण्डकीका पूर्वमुख्यमन्त्री अधिकारीले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । उनले रैथाने बालीक संरक्षण तथा उत्पादन गर्दै पर्यटकलाई आकर्षित गर्न सके किसानको आयआर्जन बढाउन सकिने धारणा राखे । महोत्सवले गुँदे तालसँगै साविक लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन हुने उनले विश्वास व्यक्त गरे ।


परिषद् अध्यक्ष पहारीले किसानलाई प्रोत्साहन गर्न प्रत्येक वर्ष कास्कीका विभिन्न ठाउँमा परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको बताए । बर्सेनि गरिने रोपाइँ महोत्सवले विदेशी पाहुना तान्न सफल भएको उनको भनाइ छ । स्थानीय संयोजक बामदेव ढुंगानाले परिषद्ले यो पटकको महोत्सवका लागि गुँदे ताल क्षेत्र रोजेकोमा धन्यवाद ज्ञापन गरे । महोत्सवले पर्यटन चलायमान हुने उनको भनाइ छ ।


‘यतातिर अहिलेसम्म यस्तो खालको महोत्सव भएको थाहा थिएन । पोखरा पर्यटन परिषद्ले यहाँ आयोजना गर्‍यो यसका लागि धन्यवाद् छ,’ उनले भने, ‘महोत्सवकै कारण आन्तरिक तथा बाह्य पर्यटकले गुँदे तालका बारेमा जानकारी पाए । हाम्रो वडामा मात्र ३ वटा ताल छन् । यो महोत्सवपछि ती ताल र यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।’

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया