‘भर्डिक्ट फेवाताल’ सार्वजनिक

समाधान संवाददाता २०८२ असार १६ गते १०:२८

पोखरा ।
कास्की जिल्ला अदालत बार एसोसिएसनले फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतबाट भएका फैसलाहरू संकलन गरी पुस्तक प्रकाशन गरेको छ ।

‘भर्डिक्ट–फेवाताल’ शीर्षकको पुस्तक आइतबार आयोजित कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहाल, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, वार काउन्सिल सदस्य अधिवक्ता दयाराम गौतम र एसोसिएसनकी ध्यक्ष भगवती पहारीले सार्वजनिक गरे ।


पुस्तकमा फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतबाट भएका ६ वटा आदेश तथा फैसलाको पूर्ण पाठ संलग्न छ । यो कास्की जिल्ला बार एसोसिएसनले फेवाताल सम्बन्धमा गरेको पहिलो प्रकाशन हो ।

Advertisement

एसोसिएसनकी अध्यक्ष भगवती पहारीले सर्वोच्च अदालतले आफ्नो स्थापना कालदेखि नै प्राकृतिक सम्पदा, धार्मिक तथा साँस्कृतिक सम्पदा रक्षार्थ समय समयमा विभिन्न फैसला गरी त्यस्ता सम्पदा जोगाउनको लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरिन् ।


उनले फेवाताल दिनानुदिन फोहोर हुँदै गएको र यसको वरिपरिको जलाधार क्षेत्रको उचित संरक्षणको अभावमा बाढी, पहिरो र जथाभावी निर्माण भइरहेको बताइन् । फेवाताल र यसको वरिपरिको जलाधार क्षेत्रको संरक्षण गर्न राज्य र स्थानीय प्रतिनिधि तथा संस्थाबाट समेत चासो बढेको छ ।

Advertisement


प्रदूषित र पुरिँदै गएको फेवातालको चासो र चिन्ता जाहेर गरेर दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतबाट फेवातालसम्बन्धी भएका फैसलालाई कास्की जिल्ला अदालत बार एसोसिएसनले प्रकाशन गरी संरक्षण सम्बन्धमा चासो राख्ने सर्वसाधारणलाई जानकारी दिने प्रयास गरिएको अध्यक्ष पहारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया